fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ एलआइसीमा लगानी ‘आइपीओ अफ द डिकेड’

एलआइसीमा लगानी ‘आइपीओ अफ द डिकेड’

भारतको सबैभन्दा ठूलो जीवन बिमा कम्पनी भारतीय जीवन बिमा निगम (एलआइसी) यतिबेला बिमा क्षेत्रमै चर्चाको विषय बनेको छ । कारण हो‑ भारतीय वित्तमन्त्री निर्मला सीतारमणले हालै जारी गरेको आर्थिक वर्ष २०२०/२०२१ को बजेट ।

बजेटमार्फत उनले बिमा क्षेत्रबाट २.१ लाख करोड रूपैयाँ ल्याउने लक्ष्य सार्वजनिक गरेपछि सरकारी बिमा कम्पनी एलआइसीको चर्चा गर्मराएको हो । शनिबार सार्वजनिक बजेटमार्फत उनले अघि सारेको योजनामा एलआइसी र इन्डस्ट्रियल डेभलपमेन्ट बैंक अफ इन्डिया (आइडीबीआई)बाट ९० हजार करोड रूपैयाँ हासिल गर्ने योजना छ । त्यसका लागि भारत सरकारले सर्वसाधारण सेयर जारी गर्ने निर्णय लिएको छ ।

विगतमा अरु कम्पनीलाई माथि उठाउँदै आएको एलआइसीको सर्वसाधारण सेयर जारी गर्ने भारतीय वित्तमन्त्री सीतारमणको योजना छ । भारत सरकारले एलआइसीको आइपिओबाट नै ७० हजार करोड रूपैयाँभन्दा बढी उठाउने लक्ष्य लिएको छ ।

एलआइसीको लगानी

सन् २०१५ मा आयल एन्ड नेचुरल ग्यास कर्पोरेसन (ओएनजिसी)ले साधारण सेयर जारी गर्दा एलआइसीले १.४ अर्ब डलर लगानी गरेको थियो भने सन् २०१९ मा खराब ऋणसँग जुधिरहेको आइडीबीआई बैंकलाई एलआइसीले नै माथि उकास्यो ।

एनआइसीका पछिल्ला पाँच वर्षको तथ्यांक त्यति उत्साहजनक छैनन् । कम्पनीको नन-पर्फर्मिङ एसेट (एनपीए) दोब्बर बढेको छ । वार्षिक प्रतिवेदनका अनुसार सन् २०१४/२०१५ मा ३.३० प्रतिशत रहेको एनपीए २०१९ मार्चसम्ममा बढेर लगानीको अनुपातमा ६.१५ प्रतिशत पुगेको छ । सन् २०१९ मार्चसम्ममा कम्पनीको कुल एनपीए २४ हजार ७७७ करोड रूपैयाँ छ भने कुल ऋण चार लाख करोड रूपैयाँभन्दा बढी छ । एलआइसीको कुल सम्पत्ति ३६ लाख करोड रूपैयाँ छ ।

भारतीय एलआइसीको अवस्था केही खस्किनुमा उसले माथि उठाउन लगानी गरेका सरकारी कम्पनी र संस्थानहरू मूल कारक हुन् । एलआइसीले जुन कम्पनीमा लगानी गरेको थियो, ती कम्पनीको अवस्था धेरै खराब छ । कतिपय कम्पनी टाट पल्टिने अवस्थामा छन् । वकरन्जी, विडियोकन इन्डस्ट्रिज, गितान्जली रत्न, आमटेक, आलोक इन्डस्ट्रिज, मन्धना इन्डस्ट्रिज, ज्योति स्ट्रक्चर्स, अप्टो सर्किट्स (भारत), इलेक्ट्रो स्टिल्स कास्टिङ्स, एबिजी सिपयार्डलगायत छन् । यीमध्ये वकरन्जीमा एलआइसीको सबैभन्दा बढी ६.५८ प्रतिशत हिस्सा छ भने एबिजीमा १ प्रतिशत छ ।

लगानी गर्न उद्योगी व्यवसायी तुर

भारतका उद्योगी व्यवसायी एलआइसीमा लगानी गर्न आतुर छन् । एसोसिएसन अफ नेसनल एक्सचेन्जर्स मेम्बर्स अफ इन्डिया (एएनएमआई) का अध्यक्ष विजय भूषण एलआईसीमा लगानी प्रस्ताव नै यो बजेटको सबैभन्दा ठूलो आकर्षण भएको बताउँछन् । यो प्रस्तावलाई उनले साउदी अरबको सरकारी तेल कम्पनी आरामको स्टक बजारमा लिस्टिङ हुने अवस्थासँग तुलना गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ‘एलआइसीमा लगानी आइपिओ अफ द डिकेड’ नै हो,’ उनले भनेका छन् ।

त्यस्तै एक्मे ग्लोबल फाइनान्सियल सर्भिसेजका प्रबन्ध निर्देशक कृष्णकुमार कारवा पनि कम्पनीहरुको काम तथा पारदर्शिताको रूपमा हेर्ने हो भने एलआइसीको आइपिओ धेरै नै सकारात्मक कदम भएको बताउँछन् ।

मेट्रोपोलिटन स्टक एक्सचेन्जका सीइओ बालु नायरले पनि एलआइसीको आइपिओमा लगानीलाई धेरै उत्साहित भएर बजारले पर्खिएको बताएका छन् । सर्वसाधारण सेयर जारी गर्ने केन्द्र सरकारको निर्णयको एलआइसी कर्मचारी संघले भने विरोध गरेको छ ।

रोजाइमा यसकारण एलआइसी

सन् २०१९ मा एलआइसीले प्रिमियमबाट ३.३७ खर्ब र लगानीबाट २.२ खर्ब रूपैयाँ कमाएको छ । एलआइसीको लगानी इक्विटी इन्भेस्टमेन्टका रूपमा २८.३२ खर्ब रुपैयाँ छ भने ऋणका रूपमा १.१७ खर्ब रुपैयाँ र बजारमा ३४,८४९ करोड रूपैयाँ छ । सरकारी सेक्युरिटी तथा सेयर बजारमा एलआइसीको औसत वार्षिक लगानी ५५ देखि ६५ हजार करोड रूपैयाँनजिक छ ।

एलआइसीले भारतको बिमा बजारको करिब ७५ प्रतिशत हिस्सा ओगट्छ । जबकि भारतको करिब २० खर्ब भारुको जीवन बिमा बजार छ । ६६ वर्षअघि स्थापित यो जीवन बिमा सेवाप्रदायक कम्पनी भारतको राज्य स्वामित्वका ठूला सार्वजनिक संस्थानहरूमध्ये एक हो ।

सरकारी स्वामित्वको कम्पनी भएका कारण एलआइसीले भारत सरकारका प्रधानमन्त्री जीवन ज्योति बिमा योजना, प्रधानमन्त्री सुरक्षा बिमा योजनाजस्ता सामाजिक सुरक्षाका कार्यक्रम पनि सञ्चालन र प्रधानमन्त्री जनधन योजनाअन्तर्गतको बिमासहित अन्य प्रमुख बिमा कार्यक्रमको नेतृत्व गर्दै आएको छ ।

एलआइसीका भारतका मुख्य सहरमा आठ क्षेत्रीय कार्यालय, ११३ विभागीय (मण्डल) कार्यालय, २०४८ शाखा कार्यालय, १४३१ स्याटेलाइट कार्यालय र १२२६ उपशाखा छन् भने साढे ११ लाख बिमा अभिकर्ता छन् ।

यसको संयुक्त लगानीमा नेपालमा एलआइसी (नेपाल), बहराइनमा एलआइसी (इन्टरनेसनल), श्रीलंकामा एलआइसी (लंका), केन्यामा केन इन्डिया इन्स्योरेन्स कम्पनी, साउदी अरबमा साउदी इन्डियन कम्पनी फर को‑अपरेटिभ इन्स्योरेन्स (एसआईसीसीआई) र बंगलादेशा एलआइसी बांग्लादेश लिमिटेड सञ्चालनमा छन् । यस्तै, पूर्ण स्वामित्वमा सिंगापुरमा जीवन बिमा निगम (सिंगापुर) पीटीआई लिमिटेड सञ्चालनमा छ ।

एलआइसी (नेपाल) के होला !

भारतीय एलआइसीले लगानी गरेका सरकारी कम्पनी र संस्थानहरू टाट पल्टिने अवस्थामा पुगेपछि एलआइसी (नेपाल)का विषयमा पनि केही आशंका उब्जिएका छन् । भारतीय एलआइसीको लगानी भएका धेरै कम्पनी टाट पल्टिरहँदा ५५ प्रतिशत लगानी रहेको नेपाली बिमा कम्पनी के होला भनेर आशंका गर्नु स्वाभाविक पनि हो ।

तर, एलआइसी नेपालमा त्यसको कुनै पनि प्रभाव नरहने कम्पनीका डेपुटी प्रमुख कार्यकारी टुनटुन बर्नवाल बताउँछन् । ‘भारतको एलआइसीका समस्यासँग एलआइसी (नेपाल)को कुनै सरोकार रहँदैन,’ उनले भने, ‘यी दुवै स्वतन्त्र ढंगले चलेका कम्पनी हुन्, बिल्कुल फरक छन् ।’ ठूलो सेयर हिस्सा रहेका कारण सञ्चालक समिति र व्यवस्थापनका केही माथिल्ला तहमा प्रतिनिधित्व रहनु सामान्य भएको उनले बताए ।

प्रकाशित समय १६:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु