fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा जोड

निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा जोड

स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मंगलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा बौद्धिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लूटीओको नियम कानुनअन्तर्गत रही आफ्ना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताए । ‘नेपालमा उत्पादित वस्तुहरुको अन्य मुलुकहरुले प्रतिलिपी उतार गरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरु समेतमा नेपालको हक कायम भएको छैन,’ उनले भने, ‘भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्नसक्ने र हाम्रा उत्पादनहरुले उल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’

नेपालमै उद्गम भएका कतिपय निर्यातयोग्य वस्तुहरुमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य भएकोमा जोड दिँदै उनले भने, ‘हालसम्म पेटेन्ट अधिकारको बारेमा नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई वौद्धिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत छैन, उनीहरुलाई ट्रेडमार्क र ब्राण्डसम्बन्धी चेतना जगाउनुपर्छ ।’

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले वौद्धिक सम्पत्ति भनेको अत्यन्तै महत्वपूर्ण कुरा भएको बताए । ‘कुल जीडीपीको छ प्रतिशत उद्योगको योगदान छ । त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान छ । साना व्यवसायीले उत्पादन गर्छन्, दुःख गर्छन्, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरुकै ट्रेडमार्क सुरक्षित हुँदैन,’ उनले भने ।

ट्रेडमार्क भनेको उद्योगी व्यवसायीको आफ्नो सम्पत्ति भएको भन्दै यसको बेलैमा संरक्षण गर्न जरुरी भएको उनले बताए । उनले भने, ‘औद्योगिक सामानहरु उत्पादन हुन्छन् तर तिनको पेटेन्ट दर्ता अत्यन्तै कम हुनुको पछाडि सचेतनाको अभाव र समयको अभावले हुन सक्छ । तर यो विषयमा व्यवसायी बेलैमा सचेत हुन जरुरी छ ।’

कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंकबहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा वौद्धिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारिताका साथै वस्तु डिजाइन तथा वौद्धिक सम्पत्तिका अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी र विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र वौद्धिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुति राखेका थिए ।

प्रकाशित समय १८:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु