fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ सामाजिक सुरक्षा कोष र सात निजी अस्पतालबीच सम्झौता

सामाजिक सुरक्षा कोष र सात निजी अस्पतालबीच सम्झौता

social-security-fund-newskarobar

सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध हुने श्रमिकले सबै किसिमका उपचार सुविधा सहजै पाउने गरी सामाजिक सुरक्षा कोष र सात निजी अस्पतालबीच सम्झौता भएको छ । कोषमा आबद्ध हुने श्रमिकले स्वास्थ्योपचारका लागि अस्पताल जाँदा कोषले उपलब्ध गराउने कार्ड देखाएर सहजै उपचार सेवा लिन सक्ने गरी सम्झौता गरिएको हो ।

त्यसका लागि कोषले काठमाडौंका तीन र काठमाडौंबाहिरका चारवटा निजी अस्पतालसँग सम्झौता गरिसकेको छ । कोषले काठमाडौंको चाबहिलस्थित हेल्पिङ हेन्ड्स, मित्रपार्कस्थित दीर्घायु गुरु र नारायणटारस्थित शंखरापुर अस्पतालसँग सम्झौता गरेको हो । त्यस्तै सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पताल र आम्दा नेपालअन्तर्गतका तीन अस्पतालसँग सम्झौता भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । आम्दा अन्तर्गत झापाको दमकमा रहेको आम्दा अस्पताल, रूपन्देहीको सिद्धार्थ बाल तथा महिला अस्पताल र आम्दा मेची अस्पतालबाट कोषमा आबद्ध श्रमिकले उपचार सेवा पाउनेछन् । उपचारका लागि कोषले ८० प्रतिशत र श्रमिकले २० प्रतिशत व्यहोर्नुपर्नेछ ।

कोषले चाँडै काठमाडौंका नेपाल अर्थोपेडिक अस्पताल र बि एन्ड बी अस्पताल तथा पोखराका मणिपाल अस्पताल र चरक अस्पतालसँग सम्झौता गर्ने उनले जानकारी दिए । स्वास्थ्य सेवा शुल्कमा दर रेटका विषयमा केही परिमार्जन गर्नुपर्ने भएकाले केही निजी अस्पतालसँगको सहकार्यमा ढिलाइ भइरहेको कोषले जनाएको छ । त्यसका लागि कोषले पुस अन्तिम साता गठन गरेको मेडिकल अधिकृत डा. सचित भण्डारीसम्मिलित समितिले काम गरिरहेको छ । ‘समितिले अध्ययन गरेपछि दिने सुझाव प्रतिवेदनका आधारमा कोष अगाडि बढ्नेछ,’ कार्यकारी निर्देशक ज्ञवालीले भने, ‘त्यससँगै निजी स्वास्थ्य संस्थासँगको सहकार्यले तीव्रता पाउँछ ।’

समितिले दिने अध्ययन प्रतिवेदनका आधारमा उपचार शुल्कमा परिमार्जन गरी निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्दै अघि बढ्ने कोषको तयारी छ । विगतमा स्वास्थ्य मन्त्रालयले शय्या संख्याको आधारमा मात्र अस्पतालहरूको ग्रेडिङ गरेका कारण पनि सामान्य जटिलता आएको कोषले जनाएको छ । सुविधाअनुसार पनि ग्रेडिङ गर्न पुस दोस्रो साता विभागीय मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएपछि त्यसको काम अघि बढेको छ ।

कोषमा आबद्ध श्रमिकले देशभरका सबै सरकारी अस्पतालबाट स्वास्थ्य सेवा पाउनेछन् । त्यसका लागि कोषले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

कोषले केही अन्योल र गुनासासमेतलाई सम्बोधन गर्ने गरी कार्यविधि संशोधनको तयारी गरिरहेको छ । १५ वर्ष योगदान गरेपछि पेन्सन पाउने उमेर ६० वर्षसम्म कोषमा पैसा रिजर्भमात्र रहने गुनासोलाई सम्बोधनको तयारी भइरहेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । ‘त्यसका लागि मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।‘ कोषका अनुसार पेन्सनमा जाने २८.३३ मध्ये ८.३३ प्रतिशत एकमुष्ठ पाउने गरी कार्यविधि संशोधन हुनसक्छ ।

श्रमिकको उमेर ६० पुगेपछि नै काम गर्न नसक्ने अर्थात् रिटायर्ड अवधि सुरु हुने भएकाले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै त्यसपछि मात्र पेन्सन सुविधा उपलब्ध गराउने गरी कार्यविधि बनेको कोषले स्पष्ट पारेको छ । ‘तर गुनासा धेरै आएकाले त्यसलाई सम्बोधन गर्न  लागिएको हो,’ ज्ञवालीले भने ।

प्रकाशित समय १२:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु