fbpx

गृहपृष्ठ सिन्धुपाल्चोकको हेलम्बुमा चौंरी संरक्षण गर्न निःशुल्क बिमा

सिन्धुपाल्चोकको हेलम्बुमा चौंरी संरक्षण गर्न निःशुल्क बिमा

chauri

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौंरीको बिमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौंरीपालक किसान उत्साहित भएका छन् । वर्षको नौ महिनाभन्दा बढी समय खर्कमा चौंरी चराउने वडा नं. २ का पेम्बा शेर्पाले चौंरी मर्दा हुने जोखिम कम हुने भएपछि खुसी लागेको बताए ।

गाउँपालिकाभित्रका फिरन्ते चौंरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौंरीको निःशुल्क बिमा योजना अघि बढाइएको हो । सरकार र किसानको संयुक्त लगानीमा पशु बिमाअन्तर्गत किसानले तिर्नुपर्ने बिमांक गाउँपालिकाले उपलब्ध गराउनुपर्ने भएको छ । ७५ प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसान स्वयंको लगानीमा बिमा कार्यक्रम आधारित छ ।

गाउँपालिकाले किसानलाई चौंरीपालनमा सक्रिय बनाउन उक्त २५ प्रतिशत आफैँ तिर्ने भएपछि किसानलाई निःशुल्क चौंरी बिमाको अवसर मिलेको हो । गाउँपालिकाको निर्णयअनुसार हाल १६ गोठमा रहेका चार सय बढी चौंरीको निःशुल्क बिमा गरिएको छ । बिमा कार्यक्रमले चौंरी खरिददेखि पालनमा खर्च गरिएको लगानी सुरक्षित बनाएको छ ।

बिमा कार्यक्रमले चौंरी खरीददेखि पालनमा खर्च गरेको लगानी सुरक्षित बनाएको स्थानीय चौरीपालक किसान साङ्गे शेर्पाले बताए । १ लाख रूपैयाँभन्दा बढी मूल्य पर्ने चौंरी मर्दा किसानले व्यहोर्नुपर्ने घाटाबाट बिमा कार्यक्रमले मुक्ति मिलेको छ । ‘गोठ सार्दै जाँदा चौंरी बिरामी भएर मर्ने जोखिम हुन्छ, केही गरी मरिहालेमा अब भने बिमा कार्यक्रमले लगानी जोगिनेमा ढुक्क बनायो,’ उनले भने ।

पशुको मृत्युपछि घाटा व्यहोर्ने हुँदा विस्तारै चौंरीपालनतर्फ किसानको आकर्षण घट्दै गएको थियो । चौंरी पकेट क्षेत्र बनाई किसानलाई व्यावसायिक पशुपालक बनाउन बिमा कार्यक्रम निःशुल्क बनाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । खर्कमै पुगेर गाउँपालिकाले चौंरीको बिमा गराएको छ । बिमासँगै गाउँपालिकाले चौंरीगोठका लागि मोबाइल चार्ज र बिजुली बाल्न मिल्ने सोलार प्यानलसहित उपकरण वितरण गरेको छ । (रासस)

प्रकाशित समय ०८:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु