fbpx

गृहपृष्ठ एक दाना रुद्राक्षको ४० लाख !

एक दाना रुद्राक्षको ४० लाख !

rudraksha ko mulya_news karobar

हाटबजारको कुनै कुना, चोक वा चिया पसलमा मसिनो स्वरले कुरा गरिरहेका मानिसको झुण्ड देखिनु/भेटिनु हिजोआज भोजपुर र संखुवासभाका लागि नौलो होइन । अथवा, छिनछिनमा भोजपुर र संखुवासभाका विभिन्न बजार तथा गाउँसम्म मोटरसाइकलमा दौडधूप गरिहिँड्ने युवाहरुको दिनचर्या पनि अनौठो मानिन्न । बजार, घर, विद्यालय, कार्यालय वा बाटोघाटो जहीँतही एकै विषय ‘रुद्राक्षको चर्चा हुनु’ पनि यहाँको लागि सामान्य हो ।

संखुवासभा र भोजपुर जिल्लामा यतिबेला रुद्राक्ष (स्थानीयस्तरमा ‘दाना’ भनिने) कारोबारको चहलपहल उत्कर्षमा छ । यो बेला रुद्राक्षको मुख्य सिजन हो । कहाँ, कति मुखे भेटियो ? कसले, कतिमा किन्यो ? यस्तै चर्चाले खाँदबारी क्षेत्र तातेको छ । भोजपुर र संखुवासभामा उत्पादित रुद्राक्षको मुख्य बजार खाँदबारी हो । यसको उत्पादन पनि दुई जिल्लामा पर्ने खाँदबारी आसपासका क्षेत्रहरुका बढी हुनेगर्छ ।

सयौं व्यक्ति अहिले यसको व्यापारमा लागेका छन् । व्यापारीहरुको व्यस्तता र दौडधूप बयान गरिनसक्नु छ । कारोबार हुने खाँदबारी, बाह्रबिसे, वाना, चैनपुरलगायत स्थानका साप्ताहिक हाटहरु तथा भोजपुरको दिङ्ला र यस वरपरका क्षेत्रमा फेरो लगाउनु उनीहरुको दैनिकी हो ।

एउटै दानाको लाखौँ रुपैयाँ मूल्य पर्ने भएकाले पनि यसको चर्चा बढी हुन्छ । बढी मुख भएको, आकार मिलेको तथा अन्य दृष्टिले पनि गुणस्तरीय ठहरिएको एउटै दानाको मूल्य आधा करोड रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन् ।

यो वर्ष एउटा २१ मुखे रुद्राक्ष ४० लाख रुपैयाँमा किनबेच भएको व्यापारीहरु बताउँछन् । अहिलेसम्म खाँदबारी क्षेत्रबाट ६ वटा २१ मुखे रुद्राक्षको कारोबार भएको व्यापारी देवराज पुरीले बताए । उनका अनुसार भोजपुरबाट ४ र संखुवसभाबाट २ वटा २१ मुखे रुद्राक्ष बजारमा आएको हो । ‘एउटा ४० लाखमा किनबेच भयो । अरु चाहिँ कुनै ३०, कुनै २० हुँदै कम्तिमा १४ लाख रुपैयाँमा कारोबार भएको पाइयो,’ उनले भने । ४० लाख मूल्य २१ मुखेका लागि अहिलेसम्मकै उच्च भएका रुद्राक्ष उत्पादक कृषक संघका केन्द्रीय सदस्य रहेका पुरीले बताए ।

यस्ता बढी मूल्यका रुद्राक्षहरु कुन गाउँमा, कसकोमा फलेको हो, कसले किनेको र कहाँ, कसरी कारोबार भएको हो भन्ने तत्काल थाहा नहुने उनले बताए । ‘यो क्षेत्रमा फलेको हो भन्नेसम्म अनुमान गर्न सकिन्छ । तर व्यक्ति नै भने थाहा हुँदैन,’ पुरीले भने, ‘बेच्ने र किन्ने दुवैले कुरा बाहिर ल्याउँदैनन् ।’ उनका अनुसार संखुवासभा र भोजपुर क्षेत्रमा बर्सेनि ५, ६ वटा यस्ता बढी मुख भएका रुद्राक्ष फल्ने गरेको छ ।

रुद्राक्षको रुखमा सामान्यत चार वा पाँच मुखे दाना बढी फल्छ । यस्ता दानाहरु तौलको आधारमा किनबेच हुनेगर्छ । यसभन्दा माथि जति बढी मुख हुन्छ, मूल्य पनि उति नै बढी हुनेगर्छ । मुख बढी वा कम भए पनि आकार मिलेको र राम्ररी पाकेको रुद्राक्षको मूल्य बढाबढ हुनेगर्छ । ज्वाला (दुईवटा जोडिएको) रुद्राक्षको पनि आकारअनुसार उच्च मूल्य हुने व्यापारीहरु बताउँछन् ।

बोक्रा नताछिएको, ठूला आकारका दानाहरु मुख अनुमान गरेको भरमा पनि किनबेच हुने गर्छ । आकारको आधारमा मोलमोलाई गरिने भएकोले यसलाई ‘ब्लाइण्ड’ हान्ने भन्ने गरिन्छ । स्थानीयहरुका अनुसार १५ वर्षअघि संखुवासभामा अहिलेसम्मै बढी २९ मुखे दाना फलेको थियो ।

खाँदबारीको शनिबारे हाटमा यतिखेर सामान्य प्रकारका रुद्राक्ष किनबेचमा मात्रै एकैदिन औसत पचास लाख रुपैयाँको कारोबार हुने व्यापारी कुलबहादुर बराइली अनुमान लगाउँछन् । यो वर्ष पनि सदाझैँ कार्तिक अन्तिमसम्मै रुद्राक्षको कारोबार हुने उनको अनुमान छ ।

केही वर्ष अघिसम्म भारततर्फ मात्र निकासी हुने रुद्राक्ष किन्न पछिल्लो समय भने गाउँ–गाउँसम्मै चिनियाँ व्यापारीहरु पुग्न थालेका छन् । दुई दर्जनबढी चिनियाँहरु रुद्राक्ष किन्न हरेक वर्ष खाँदबारी आउने गरेका छन् । रुद्राक्ष फल्ने र यसको कारोबार हुने स्थानहरुमा आफ्नो ‘एजेण्ट’ राखेर उनीहरु खाँदबारी बसेका छन् । राम्रो रुद्राक्ष भेटिएको जानकारी आएपछि दाम मिलाउन भने उनीहरु आफैँ पुग्छन् ।

रुद्राक्षको व्यापार सुरु भएपछि स्थानीय बजारहरुमा पनि चहलपहल बढेको छ । साप्ताहिक हाट र बजार पसलको कारोबार बढेको व्यापारीहरुको भनाइ छ ।

प्रकाशित समय ११:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु