fbpx

गृहपृष्ठ एडिबीको नयाँ रणनीति : २ वर्षमा नेपाललाई ६० करोड डलर ऋण

एडिबीको नयाँ रणनीति : २ वर्षमा नेपाललाई ६० करोड डलर ऋण

asian development bank_news karobar

एसियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउन पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । रणनीतिअनुसार आगामी २ वर्षमा नेपाललाई औसतमा ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुनेछ ।

नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपाली जनताको जीवनस्तर उकास्न तथा विकास–निर्माणका प्रयासमा मद्दत गर्न उक्त रणनीतिक साझेदारीको दस्तावेज मनिलास्थित बैंकको प्रधान कार्यालयमा सार्वजनिक गरिएको हो । बैंक सञ्चालक समितिको केही दिनअघिको बैठकले अनुमोदन गरेको नेपाल देशीय साझेदारी रणनीतिले निजी क्षेत्रको नेतृत्वमा उत्पादकत्व वृद्धिमा योगदान गर्ने भौतिक पूर्वाधार निर्माण, प्रभावकारी सेवा प्रवाहमा सर्वसाधारणको पहुँचमा सुधार र वातावरणीय दिगोपन कायम गर्दै प्राकृतिक विपत्तिमा पनि क्षति नहुने पूर्वाधार निर्माणजस्ता तीनवटा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।

जलविद्युत् र नवीकरणीय ऊर्जाको विकास, सडक तथा हवाई यातायात, घरेलु, क्षेत्रीय र अन्तराष्ट्रिय सम्पर्क सञ्जालका निम्ति व्यापार सहजीकरण, उत्पादकत्वको लागत कम गर्नें, वाणिज्य–व्यापार विस्तार, निजी लगानी आकर्षणलाई पनि रणनीतिमा विशेष जोड दिइएको छ ।

शहरी क्षेत्रका नगरपालिकासहित नगरहरूको विकास, गुणस्तरीय शिक्षा, रोजगारीमूलक सीप विकास तथा ग्रामीण भेगका जनताको आय बढाउन कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र व्यावसायिकतालाई पनि रणनीतिले अधिक जोड दिएको छ । सामाजिक–आर्थिक विकासको प्रतिफलबाट वञ्चित रहेका महिला तथा अन्य सुविधाहीन सामाजिक समूहको विकासमा रणनीति लक्षित छ ।

प्रकाशित समय १०:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु