fbpx
Nepal Mediciti

गृहपृष्ठ शैलजा आचार्य स्मृति पोलिटेक्निकका कर्मचारी आन्दोलित

शैलजा आचार्य स्मृति पोलिटेक्निकका कर्मचारी आन्दोलित

Shailaja-Memorial_NewsKarobar

मोरङको जहदा गांउपालिका–४ स्थित शैलजा आचार्य पोलिटेक्निकमा कार्यरत कर्मचारी र प्रशिक्षकहरु आन्दोलित भएका छन् । सरकारले निर्धारण गरेको सेवासुविधा पाउनु पर्ने मागसहित उनीहहरु आन्दोलित भएका हुन् ।
सञ्चालक समितिलाई पटक–पटक सरकारी नियमानुसारको तलब सुविधा उपलब्ध गराउन माग गर्दै आए पनि सुनवाई नभएपछि आफू आन्दोलनमा उत्रिनु परेको नर्सिङ संयोजक शशीकला तिवारीले बताइन् ।
आफ्नो माग लिएर जांदा सञ्चालक समितिका पदाधिकारीहरूले कामबाट निकालिदिने भनेर धम्क्याउने गरेको उनले आरोप लगाइन् ।
‘हामी माथि एकदमै श्रम शोषण भइरहेको छ, हामीले धेरै कुरा मागेको हैन । सकारले तोके अनुसारको सेवा सुविधा माग्दा उल्टै कामबाट निकाल्ने धम्की आउँछ, त्यसैले आन्दोलनमा जानुपरेको हो,’ उनले भनिन् ।
अधिकांशलाई मौखिक र कतिपयलाई प्रत्येक वर्ष १ वर्षको नियुक्ति दिएर काममा लगाउने गरिएको आन्दोलनरत पक्षले जनाएको छ ।
पोलिटेक्निकमा कार्यरत केही कर्मचारीले भने दोहोरो सुविधा लिइरहेको उनिहरुले दाबी गरेका छन् ।
विगत १५ वर्षभन्दा बढी समयदेखि काम गर्दै आएकी भाइस प्रिन्सिपल सुनिता राउतले प्रत्येक साल १ वर्षको नियुक्तिपत्र दिइने गरे पनि यसपटक भने त्यो पनि नदिइएको र सेवा–सुविधाका विषयमा जानकारी माग्दा समेत सञ्चालक समितिले दिन नमानेको जानकारी दिइन् ।
उनले भनिन्, ‘मैले यहाँ काम सुरु गरेको १५ वर्ष भयो । वर्षैपिच्छे १ वर्षको नियुक्ति मात्र पाउँदै आएको छु । यो वर्ष त त्यो पनि छैन । हामीलाई केही पनि जानकारी गराइएको छैन ।’
सञ्चालक समितिका सदस्य मोहनलाल महतोले भने काममा लगाइएका कर्मचारीहरूलाई सरकारले निर्धारण गरेको आधारभूत तलव दिने गरेको दाबी गरेका छन् ।
उनले आम्दानीको स्रोत न्यूत रहेकाले थप सेवा सुविधा विस्तारमा समस्या भइरहेको बताए ।
सीटीइभीटीबाट प्राप्त हुने आंशिक आर्थिक सहयोग र विद्यार्थी भर्नाबाट प्राप्त हुने रकमबाट कर्मचारी तथा प्रशिक्षकलाई तलब दिने गरिएको उनले जानकारी दिए ।
‘नियमित आम्दानीको स्रोत छैन । सीटीईभीटीबाट प्राप्त सहयोग र विद्यार्थी भर्नाबाटै आएको आम्दानीले उहाँहरूलाई तलब भत्ता दिँदै आएका छौँ,’ उनले भने, ‘त्यसकारण उहाँहरुले भनेजस्तो सबै गर्न समस्या छ ।’
गएको २० गतेबाट आन्दोलित भएका कर्मचारी तथा प्रशिक्षकहरू यतिबेला चरणबद्ध आन्दोलनमा छन् ।
उनीहरूले सामाजिक विकास मन्त्रालयसहित श्रम कार्यालय लगायत सरोकारवाला निकायमा समेत आफूलाई परेको अन्यायको विषयमा ज्ञापनपत्र बुझाउने जनाएका छन ।
कृष्णप्रसाद कोइराला सेवा गुठी र सीटीइभीटीको संयुक्त साझेदारीमा सञ्चालित सो पोलिटेक्निकमा ७० जना प्रशिक्षक र कर्मचारी कार्यरत छन् ।

प्रकाशित समय १८:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु