fbpx
Nepal Mediciti

गृहपृष्ठ बैंकमा महिलाको पहुँच बढ्दो

बैंकमा महिलाको पहुँच बढ्दो

जिल्लाको शिखर नगरपालिका–५ धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई गएका छन् ।

ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो । रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउने गर्थे । कहिलेकाहीँ आफू घर आउँदा उनले आफैँ पनि बोकेर आउँथे । दुःख गरी कमाएको पैसा आफूले बोकेर ल्याउँदा होस् वा अरू कसैको हातमा पठाउँदा, बाटोमा पैसा लुट्छन् कि भन्ने डर सधैँ हुन्थ्यो ।

हिजोआज भने खेमराज विक ढुक्कसँग पैसा पठाउने गर्छन् । उनकी धर्मपत्नी ईश्वरीले करिब एक वर्षपहिले डोटीमा रहेको एभरेस्ट बैंकमा खाता खोलेपछि अब खेमराजले न त पैसा बोकेर ल्याउनुपर्छ न बाटोमा लुटिने डर छ । श्रीमानले अहिले खातामै पैसा पठाउन थालेपछि आफू निकै खुसी भएको श्रीमती ईश्वरी विकले बताइन् । उनले भनिन्, ‘श्रीमानले पैसा खातामै पठाइरहनुहुन्छ, मलाई चाहिएको जति झिक्छु, बाँकी बैंकमै रहन्छ, न चोरको डर, न हराउने डर छ अहिले त ।’

सोही गाउँकी ३० वर्षीया उसा बोहराले पनि बैंकमा खाता खोलेकी छन् । रोजगारीका लागि मलेसियामा रहेका उनका श्रीमानले मलेसियाबाट पैसा पठाउँदा उनकै खातामा पठाउने गर्छन् । आइएमई गर्नुपर्ने, अर्काको खातामा पैसा मगाउनुपर्ने झन्झटबाट अहिले आफू मुक्त भएको उषा बोहराले  बताइन् ।

ईश्वरी र उषाजस्तै ३५ वर्षीया पवित्रा बोहराले पनि बैंकमा खाता खोलेकी छन् । पवित्राका श्रीमान् श्रीमती खेतीपातीकै काममा घरैमा व्यस्त छन् । उनीहरूले पालेका कुखुरा, बाख्रा बिक्रीबाट आएको सानोतिनो कमाइ घर खर्चबाट बचेपछि बैंकमा जम्मा गर्ने गरेका छन् । विगतको तुलनामा अहिले गाउँतिरका महिलाहरु बैंक खाता खोल्नतिर आकर्षित भएका छन् । धामीगाउँमा रहेको ३० सदस्यीय महिला समूहमा सबैले बैंकमा खाता खोलेका छन् । ‘कुनै सदस्यको आफ्नो नाममा नभएर श्रीमानको नाममा होला, कुनैको आफ्नै नाममा होला,’ समूहकी सदस्य पवित्रा बोहराले भनिन्, ‘प्रत्येक घरका एकजनाको बैंकमा खाता छ, सबैले पैसा बैंकमै जम्मा गर्ने गरेका छन् ।’

सुरक्षित वैदेशिक रोजगार र बचतबारे छलफल गर्नका लागि गठन भएको एकता सुरक्षित आप्रवासन समूह गठन भएपछि सबैले बैंक खाता खोलेको पवित्रा बोहराले जानकारी दिइन् । उनले भनिन्, ‘करिब तीन वर्ष भयो, हामीले समूह गठन गरेको, यसअघि गाउँमा धेरै भए चार÷पाँच जनाको मात्रै खाता थियो होला तर अहिले समूहका सबै सदस्यको नाममा खाता रहेको छ ।’

सुरक्षित आप्रवासनको क्षेत्रमा जिल्लामा काम गर्दै आएको ‘निड्स नेपाल’ नामक एक गैरसरकारी संस्थाले वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरणमा बैंक खाताको महत्वबारे जानकारी गराएपछि आफूहरुले खाता खोलेको समूहकी अध्यक्ष उषा बोहराले बताइन् । उनले भनिन्, ‘हामी मुख्य रुपमा वैदेशिक रोजगारको विषयमा छलफल गर्ने गर्छौं । त्यसका साथसाथै बचतको विषयमा पनि छलफल गर्ने गर्छौं र बैंकमा नै सबै कारोबार गर्छौं ।’ यति मात्र नभई उक्त समूहको मासिक बचतका लागि निड्स नेपालले सहयोग गरिरहेको छ । – विमलबहादुर विष्ट/रासस)

प्रकाशित समय १४:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु