fbpx
Nepal Mediciti

गृहपृष्ठ जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा सुरु

जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा सुरु

नेपाल टेलिकमले जनकपुरमा फाइबर टु दि होम (एफटीटीएच) सेवा सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दूरसञ्चार कार्यालय जनकपुरको प्राङ्गणमा शुक्रबार आयोजित कार्यक्रमकाबीच एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको औपचारिक आरम्भ गरेका हुनु ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई साकार बनाउँदै राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नका लागि नेपाल टेलिकमले सधैँ सरकारलाई साथ दिनुपर्ने बताए । उनले आगामी वर्ष धेरै आयोजनाहरु सम्पन्न गर्नुपर्ने भएकाले नेपाल टेलिकमको लागि समृद्धिको वर्ष हुने र कम्पनीको सेवाप्रति आम ग्राहकको उच्च आस्थालाई निरन्तरता दिनका लागिसमेत कम्पनी थप ग्राहकमुखी हुँदै जानुपर्ने सुझाब दिए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको विकासका लागि सरकारले अवलम्बन गरेको नीतिलाई सफल बनाउन आफ्नो क्षेत्रबाट सशक्त योगदान दिन नेपाल टेलिकम कटिबद्ध रहेको बताए । उनले कम्पनीका सेवाहरूको विस्तारसँगै बजारीकरणलाई पनि थप मजबुत बनाउँदै लगिने बताए ।

यस्तै नेपाल टेलिकमको बीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवा विस्तार कार्य समयमा नै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा केन्द्रका निर्देशक प्रमोदकुमार परमारलगायत अन्य कर्मचारीहरु पनि उपस्थित थिए ।

जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २४० लाइन वितरण भैसकेको र निकट भविष्यमा थप लाइन जडान र वितरण गर्ने टेलिकमको तयारी छ । जनकपुर क्षेत्रमा ८ एमबीपीएसदेखि ५५ एमबीपीएससम्मको इन्टरनेट उपलब्ध गराइने टेलिकमले जनाएको छ । वित्तीय संस्थाहरुलाई लिज लाइनको व्यवस्था पनि फाइबरबाट उपलब्ध गराइने छ । एक वर्षका लागि ८ एमबीपीएसको प्याक ८ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइने छ । यसवापत एक थान वाइफाई राउटर र एक सय मिटरसम्म फाइबर निःशुल्क उपलब्ध गराइने छ । नयाँ लाइन जडानको समयमा भ्वाइस सेवा तीन महिनाका लागि निःशुल्क उपलब्ध गराइने छ ।

हाललाई यो सुविधा जनकपुरको भानुचोकदेखि शुभचोक, रेलवे स्टेसन, वकिल टोल एरिया र विद्यानगरसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस्तै, जनकपुर चुरोट कारखाना पूर्व गेटदेखि पिडारी चोक पूर्वसम्म परिक्रमा सडकमा र जनकचोकदेखि भानुचोक सम्म मेनरोडमा उपलब्ध छ । निकट भविष्यमा अरु क्षेत्रमा पनि नेटवर्क विस्तार गर्ने टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताए ।

प्रकाशित समय १५:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु