fbpx

गृहपृष्ठ नेपाल इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘जेष्ठलाई श्रेष्ठ’ बनाउने प्रतिबद्धता

नेपाल इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘जेष्ठलाई श्रेष्ठ’ बनाउने प्रतिबद्धता

nepal-insurance-newskarobar

नेपाल इन्स्योरेन्स कम्पनीलाई सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतदेखि जुनियर कर्मचारीसम्मले ‘श्रेष्ठ’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्पनीको ७२औं वार्षिकोत्सवमा अवसरमा बुधबार कमलादीमा आयोजित कार्यक्रममा उनीहरुले नेपालकै जेष्ठ कम्पनीलाई श्रेष्ठ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष अर्जुन पौडेल शर्माले सम्पूर्ण बिमित, लगानीकर्ता, पूर्वसञ्चालक, कर्मचारी, नियामक निकाय र सम्बन्धित सबैको सहयोगको सराहना गर्दै नेपालकै पुरानो कम्पनीलाई बिमा क्षेत्रकै उत्कृष्ट बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।

प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले स्थापना कालदेखि नै ग्राहकको भरपर्दो र विश्वासिलो कम्पनीको पहिचान बनाउन सफल नेपालकै पहिलो बिमा कम्पनीलाई श्रेष्ठ बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘आधुनिक बिमाका सुविधा सुरक्षित र सरल रुपमा बिमितसम्म पु-याउन नवीनतम प्रविधिको प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो क्षमता र दक्षताको उच्चतम प्रयोग गरी कम्पनीलाई दुई वर्षभित्रै उत्कृष्ट ३ कम्पनीको सूचीमा उभ्याउँछौं ।’ पद फरक फरक भए पनि सबै कर्मचारीको भ्यालु एउटी भएको भन्दै उनले कर्मचारीलाई उत्साहित गरेका छन् ।

कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डेले उत्कृष्ट बिमा सेवा प्रदान गर्न नेपाल इस्योरेन्स सदैव प्रतिबद्ध रहेको बताए । ‘ग्रामीण क्षेत्रसम्म कम्पनीको पहुँच बढाउँदै २१औं शताब्दीको उत्कृष्ट सेवा दिन हामी प्रतिबद्ध छौं,’ उनले भने । त्यस्तै, कम्पनी सचिव एवं वरिष्ठ प्रबन्धक चन्द्रनाथ उप्रेतीले नेपाल इन्स्योरेन्सलाई उत्कृष्ट बनाउन सबै कर्मचारी एउटै परिवारजस्तो भएर अघि बढिरहेको र छिट्टै नतिजा देखिने बताए ।

वार्षिकोत्सवका अवसरमा कम्पनीमा २५ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई प्रशंसा पत्र तथा उत्कृष्ट काम गर्ने शाखा तथा कर्मचारीलाई प्रशंसा पत्रसहित नगद पुरस्कार समेत प्रदान गरिएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड छ । कम्पनीले गत वर्ष १ अर्ब १७ करोड प्रिमियम संकलन गरेको छ । गत वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरण गरेको छ । देशभरका प्रधान कार्यालय, शाखा, उपशाखा तथा बिमा सेवा केन्द्र समेत गरी ८१ स्थानबाट कम्पनीले बिमा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हाल २८२ कर्मचारी कार्यरत छन् ।

प्रकाशित समय १९:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु