fbpx
Nepal Mediciti

गृहपृष्ठ अब मोबाइलबाटै राष्ट्रिय बिमा संस्थानको जीवन बिमा

अब मोबाइलबाटै राष्ट्रिय बिमा संस्थानको जीवन बिमा

rastriya-bima-sansthan-newskarobar

राष्ट्रिय बिमा संस्थानले दिने जीवन बिमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुने भएको छ । पूर्णसरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बिमा कम्पनीले बिमक र बिमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

संस्थानले संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘राष्ट्रिय बिमा संस्थान’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । मोबाइल एप्स सार्वजनिक गर्दै संस्थानका अध्यक्ष धनीराम शर्माले मोबाइल एप्लिकेसन सुरुवात मात्र रहेको बताए । ‘यो एप सुरुवात मात्र हो । यसमा प्रयोगकर्ता, बिमित तथा बिमकको आवश्यकता र मागअनुसार नयाँ–नयाँ सुविधा थप्दै लैजाने छौं,’ उनले भने, ‘मोबाइल एप्समा डिजिटल पेमेन्ट थप्नुका साथै उपभोक्ताले खोजेअनुरुपका अनलाइन सुविधा पनि सकेसम्म चाँडो ल्याउने छौं ।’

संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपालकै अग्रणी तर सुस्त गतिमा चलिरहेको राष्ट्रिय बिमा संस्थानले अब आफ्नो गति तीव्र बनाएको बताए । यो कार्यको थालनीसँगै नागरिक लगानी कोषमार्फत आएको राष्ट्रसेवक कर्मचारीको तीन लाख १८ हजार पोलिसी एप्समा समावेश गरिसकिएको उनले जानकारी दिए ।

संस्थानका अभिकर्ता हरिशरण शिवाकोटीले संस्थानको मोबाइल एप्स संस्थान, अभिकर्ता र बिमितहरुबीचको कडीको रुपमा आएको भन्दै बिमाका योजना छान्नेदेखि बिमा गर्नेसम्मको प्रक्रियालाई छोटो बनाइदिएको बताए । बिमितलाई बिमा योजनाबारे जानकारी दिने क्रममा क्याल्कुलेटर र किताब पल्टाउनुपर्ने झन्झटबाट पनि मोबाइल एप्सले मुक्त गरिदिएको उनको तर्क छ ।

मोबाइल एप्सको प्रयोगबाट नयाँ ग्राहक (साउन १ गतेदेखि संस्थानमा संलग्न रहेका ग्राहक) ले सेवा लिन सक्नेछन् भने पुराना ग्राहकको विवरण यही आर्थिक वर्षभित्रमा एप्समा अपलोड गरी सक्ने संस्थानले जनाएको छ । एप्समा विवरण अपलोड गर्ने काम सकिएपछि पुराना ग्राहकलाई समेत युजरनेम र पासवर्ड उपलब्ध गराउने संस्थानको योजना छ ।

प्रकाशित समय २०:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु