fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्णालीका डेढ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध

कर्णालीका डेढ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध

health_insurance_newskarobar

कर्णाली प्रदेशका करिब डेढ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । २०७२ साल चैत २५ गतेदेखि कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल कर्णालीका आठवटा जिल्लामा लागू भएको छ । २०७४ असार १ गते जाजरकोटबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा हाल १ लाख ६० हजार नागरिक आबद्ध रहेको स्वास्थ्य बिमा बोर्ड कर्णाली प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए । उनका अनुसार सुरुमा कर्णालीका जाजरकोट, सुर्खेत, कालीकोट, जुम्ला र रुकुममा यो कार्यक्रम लागू भएको थियो ।

हाल यो कार्यक्रम हुम्ला, मुगु र डोल्पामा पनि लागू गरिएको छ । दैलेख र सल्यानमा भने कर्मचारी अभाव तथा व्यवस्थापनको समस्याका कारण यो कार्यक्रम लागू गर्न नसकिएको संयोजक पण्डितले बताए । आर्थिक वर्ष ०७६/७७ सालभित्र यी दुई जिल्लामा समेत स्वास्थ्य बिमा कार्यक्रम लागू गरिसक्ने उनले जानकारी दिए । ‘कर्णालीको जनता स्वास्थ्य बिमा गर्न एकदमै उत्साहित छन्,’ पण्डितले भने, ‘कर्णालीमा स्वास्थ्य बिमाको आवश्यकतासमेत उत्तिक छ ।’

पण्डितका अनुसार कर्णाली प्रदेशमा रहेका २० वटा सेवाप्रदायक संस्था (स्वास्थ्य संस्था ) हरुलाई स्वास्थ्य बिमा बोर्डले १० करोड २३ लाख ७७ हजार बुझाइसकेको छ । त्यस्तै सबैभन्दा धेरै रुकुमको चौरजहारी मिसन अस्पताललाई ४ करोड, प्रदेश अस्पताललाई १ करोड ९१ लाख ७६ हजार सेवा दिएबापतको रकम बिमा बोर्डले सेवाप्रदायक संस्थालाई बुझाएको छ ।

उनले देशभर १० प्रतिशतमात्रै स्वास्थ्य बिमा सफल भएका बेलामा कर्णालीमा भने २० प्रतिशत सफल भएको बताएका छन् । ‘कर्णाली प्रदेशभर स्वास्थ्य बिमा लागू भएका ८ जिल्लाको जनसंख्याको २० प्रतिशतले स्वास्थ्य बिमा गरेका छन्,’ पण्डितले थपे, ‘अझै पनि नागरिकलाई स्वास्थ्य बिमाबारे जानकारी गराउन नसक्नु हाम्रो कमजोरी हो ।’

आगामी दिनमा नागरिकको घरघरमै गएर बिमासम्बन्धी जानकारी गराउने योजना बनाएको पण्डितले बताए । उनका अनुसार कर्णाली प्रदेशभर जुम्लामा सबैभन्दा धेरै ३० प्रतिशत र सबैभन्दा कम सुर्खेतमा १० प्रतिशतले बिमा गरेका छन् ।

प्रकाशित समय १८:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु