fbpx
Nepal Mediciti

गृहपृष्ठ बारा र पर्सामा कति प-यो बिमा दाबी ?

बारा र पर्सामा कति प-यो बिमा दाबी ?

बिमक भन्छन्, 'दाबी आउने क्रम जारी छ'

आइतबार साँझ आएको भीषण हावाहुरीले तराईका केही जिल्लामा ठूलो जनधनको क्षति गरेको छ । हावाहुरीले प्रदेश २ को बारा र पर्सामा मात्रै २८ जनाकाे ज्यान लिएको छ भने सयौं मानिस घाइते भएका छन् । भौतिक संरचनाको क्षति ठूलो भए पनि कति क्षति भयो भन्ने यकिन विवरण आइसकेको छैन । बाराको पुरैनियार, पसौनी, भर्वलया, फेटा, तेलकुवा, परशुरामपूर र पर्साको वीरगञ्ज र चैनपूर बढी प्रभावित भएका छन् ।

जनधनको क्षतिपछि अहिले बारा र पर्साका नागरिकसँगै सिंगो मुलुक गहिरो शोकमा छ । त्यसो त, घर र जायजेथा गुमाएकाहरुको पीडा त भनिसाध्य नहोला । यस्तै खालको प्राकृतिक विपत्तीबाट हुने जनधनको क्षति बहन गराउन बिमा गर्नुपर्छ भनी व्यापक प्रचार–प्रसार भइरहेको छ । सरकारले नै बिमालक्षित विभिन्न चेतनामूलक कार्यक्रम चलाइरहेको छ । तर, बारा र पर्सामा बिमाले कति दाबी भुक्तानी गर्दैछ त ? न्युजकारोबार डटकमले वीरगञ्जलगायतका क्षेत्रमा रहेका बिमा कम्पनीका प्रतिनिधिसँग दाबीसम्बन्धी केही विवरण मागेको छ । प्ररम्भिक रुपमा प्राप्त विवरणले धेरै दाबी नपरेको बताउँछ । बिपत व्यवस्थापन अझै पूर्णरुपमा नसकिएकाले दाबी पर्न सक्ने समय अझै छ । कम्पनीहरुले जनाएको प्रारम्भिक दाबी भने यस्तो छ ।

अहिलेसम्म दुई वटा दाबी पर्यो – गोविन्दराज दाहाल, म्यानेजर, नेपाल इन्स्योरेन्स कम्पनी, वीरगञ्ज

हाम्रो शाखामा अहिलेसम्म दुई वटा उद्योग र एउटा कृषिको गरी तीनवटा दाबी परेको छ । ताम्राकार ग्रुप र वीरगञ्ज बोन प्रोसेसिङ इन्डष्ट्रिजबाट दाबी परेको छ भने एउटा कृषि फर्मको फोन आएको छ । उद्धार कार्य, विपत व्यवस्थापन तथा राहत वितरणको काम भइरहेकाले थप दाबी पछि आउला ।

कुनै दाबी परेको छैन– अर्जुन पौडेल, सहायक व्यवस्थापक, राष्ट्रिय बीमा कम्पनी, वीरगञ्ज

वीरगञ्जस्थित राष्ट्रिय बिमा कम्पनीको शाखामा अहिलेसम्म कुनै दाबी परेको छैन । हुँदै नभएर दाबी नपरेको होइन । दाबी पर्ने समय अझै बाँकी नै छ । फाट्टफुट्ट फोन चाहिँ आइरहेको छ । बिमा गरेर क्षति भएमा हामी दाबी लिएर आउन हामीले प्रोत्साहन गरिरहेका छौं ।

रिस्क कभर नभएको दुइटा दाबी परेको छ– राहुल महतो, म्यानेजर, प्रभु इन्स्योरेन्स, वीरगञ्ज

हाम्रो शाखामा अहिलेसम्म दुइटा दाबी परेको छ । तर, रिस्क कभर नभएको दाबी परेको छ । एउटा गाडीको दाबी परेको छ जसको रिस्क हावाहुरीबाट हुने क्षतिबाट कभर गरिने भन्ने कन्डिसन छैन । अर्को फ्याक्ट्रको फाएर इन्स्योरेन्स छ, यो पनि त्यस्तै छ ।

दुइटा दाबी परेको छ र आउने क्रम जारी छ– हरिगोपाल श्रेष्ठ, म्यानेजर, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, वीरगञ्ज

अहिलेसम्म एउटा घर र दुइटा गाडी गरी तीन दाबी आएको छ । कतिपयले फोन गर्नुभएको छ । अर्थात्, दाबी आउने क्रम जारी छ ।

पर्खाल ढलेको दाबी परेको छ– अजय श्रेष्ठ, सिनियर अफिसर, जनरल इन्स्योरेन्स कम्पनी, वीरगञ्ज

अहिलेसम्म एउटा दाबी परेको छ, पर्खाल ढलेको छ । त्यसबाहेक अरु दाबी आएको छैन । क्षतिकै विवरण आइनसकेकाले पनि हुन सक्छ दाबी नआएको । कृषि र औद्योगिक क्षेत्रबाट केही दाबी आउन सक्ने हाम्रो अनुमान छ ।

क्षति धेरै भएको छ तर दाबी भने आएको छैन – आकृति ढकाल, जुनियर अफिसर, युनाईटेड इन्स्योरेन्स कम्पनी, वीरगञ्ज

हामीकहाँ अहिलेसम्म कुनै दाबी परेको छैन । धेरैजसो घरहरु भत्किएका छन् । भुसका घरहरु बढी भएकाले बिमाको दाबी नआएको हो । अरु सवारीसाधन, उद्योग र कृषिलगायतमा पनि अहिलेसम्म दाबी परेको छैन ।

दाबी आउन सक्छ– बर्दी बस्नेत, म्यानेजर, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, वीरगञ्ज

आइतबारको हावाहुरीले क्षति गरेको हो । सोमबारसम्म उद्धार र व्यवस्थापनको काम नै सकिएको छैन । विपत्तीमा परेकाहरु बल्ल अरु कुरा पनि सोच्न सक्नेसम्म भएका छन् । त्यसैले हुन सक्छ अहिलेसम्म कुनै दाबी परेको छैन । यद्यपि, दाबी आउन सक्ने हाम्रो अनुमान छ ।

तीन वटा लिखित दाबी आएको छ– कृष्ण चौधरी, जुनियर अफिसर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, वीरगञ्ज

फ्याक्ट्रीको छाना उडाएको र स्टोर गरी राखिएको सामान असिनापानीले भिजाएको भनी तीन वटा लिखित दाबी आएको छ । हाम्रो शाखाका म्यानेजर अमरबहादुर गौतम अहिले (सोमबार अपरान्ह ५ बजे) क्षति हेर्न जानुभएको छ । अरु दाबी आउने क्रम जारी छ ।

गाडी र फ्याक्ट्रीको दाबी आइरहेको छ– निशानत लामिछाने, प्रबन्धक, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, वीरगञ्ज

हामीकहाँ फ्याक्ट्रय र गाडीको दाबी आइरहेको छ । घरको दाबी पर्ने सम्भावना देखिदैन । किनकि, प्राय सबै घर फुसले बनाइएका छन् ।

बारास्थित बिमा कम्पनीका शाखामा पनि फाट्टफुट्ट दाबी आइरहेको बताइएको छ । विपत व्यवस्थापन भइनसकेकाले बिमाको दाबी केही दिनपछि पनि आउन सक्ने बिमकहरुको अनुमान छ ।

प्रकाशित समय ११:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु