fbpx

गृहपृष्ठ मकवानपुरमा आधा दर्जन पुल बन्दै

मकवानपुरमा आधा दर्जन पुल बन्दै

मकवानपुरको क्षेत्र नं-२ अन्तर्गत पर्ने विभिन्न स्थानमा १ अर्ब रुपैयाँको लागतमा ६ वटा पुल बन्ने भएका छन् । पुल अभावका कारण आवत-जवावत तथा उत्पादित वस्तुको ओसार-पासारलगायतमा समस्या झेल्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुसी भएका छन् ।

कृषि उपजको पकेट क्षेत्र मानिने स्थानमा नै पुल नहुँदा व्यावसायिक कारोबारमा समस्या भोग्दै आएका क्षेत्र नं २ मा चालु आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँको लागतमा आधा दर्जन पक्की पुल बन्ने भएका हुन् । संघीय सरकारको चालु आर्थिक वर्षको बजेटमार्फत पुल निर्माण गर्न लागेका बताइएको छ । उक्त निर्वाचन क्षेत्रका सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागेको जनाइएको छ ।

लामो समयदेखि पुल अभावको समस्या झेल्दै आएका स्थानीय बासिन्दाको सुविधाका लागि सरकारले बजेट छुट्याएर पुल निर्माण गर्न प्रक्रिया अगाडि बढाएको हो । संघीय सरकारको लगानीमा मनहरी गाउँपालिकाको सानान्टार-हाँडीखोला जोड्ने पक्की पुल १७ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको बताइएको छ ।

सांसद खतिवडाका अनुसार राक्सीराङ गाउँपालिकाको सरिखेत-चुलिङखोला, मकवानपुरगढी गाउँपालिकाको डुम्रेकुना-गढी, थाहा नगरको घर्तीखोला-थाहानगर तसार खोला, भीमफेदी गाउँपालिकाको इपा कोगटे गाउँमा पनि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । केही पुलको बोलपत्र आह्वान प्रक्रिया पनि अगाडि बढाइएको छ । पुल नहुँदा स्थानीयले निकै समस्या भोग्नुपरेको मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । (रासस)

प्रकाशित समय १४:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु