fbpx
corona information

गृहपृष्ठ सस्तो छ मानसिक रोगको उपचार

सस्तो छ मानसिक रोगको उपचार

आज ‘विश्व मानसिक स्वास्थ्य दिवस’ । हरेक वर्ष अक्टोबर १० का दिन विश्वभरी नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । यो वर्ष भने विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण औपचारिक र व्यापक कार्यक्रमहरु आयोजना गरिएका छैनन् । यसअघि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने चलन थियो । मानसिक रोगले ल्याएका विभिन्न समस्या र चुनौतीहरुलाई मिलेर समाधान गर्न सन् १९९२ देखि १५० भन्दा बढी देशहरुमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसले मानसिक स्वास्थ्य समस्याका मुद्दा, समस्या र उपचारात्मक तथा प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गराउँछ ।

मानव जीवनमा स्वास्थ्य नभइ नहुने चीज हो । त्यसमा पनि मानसिक स्वास्थ्य । मानसिक स्वास्थ्य ठीक छ त जीवन छ, छैन त जीवन छैन । विश्व स्वास्थ्य संगठनले मानिस मानसिक र शारीरिक रुपमा पूर्ण स्वस्थ भएमा मात्र स्वस्थ व्यक्ति भन्न सकिन व्याख्या गरेको छ । तर संसारभर नै हरेक दिन मानसिक रोगका बिरामीहरु बढ्दो संख्यामा छ । विश्वभर हरेक वर्ष ३० करोडभन्दा बढी मानिसहरु डिप्रेसनको शिकार भइरहेका छन् । बदलिँदो समाज र जीवनशैलीका कारण मानिसमा विभिन्न तनाव, नैराश्यता पनि बढ्दै गइरहेको छ । मानिसले हाँस्न बिर्सिसकेका छन्, भौतिकवादी भएर आफ्नो जीवनको यथार्थलाई भूलेका छन् । समाजमा आत्महत्याका समस्या विकराल बन्दै गइरहेको छ ।

नेपालको परिप्रेक्ष्यमा कुरा गर्नुपर्दा, मानसिक रोगीहरु दिनदिनै बढिरहेको मनोचिकित्सक डा. शैलेश शर्मा बताउँछन् । समयमा उपचार पद्धति नअपनाउनु नै यसको मुख्य कारण भएको उनको बुझाइ छ । सानोतिनो समस्याहरु हुँदा वास्ता नगर्ने, पछि त्यसले जटिल रुप लिएपछि मात्र अस्पताल जाने गर्दा पनि यस रोगका बिरामीहरु थपिदै जाने गरेको डा. शर्मा बताउँछन् । ‘नेपालमा यस रोगसम्बन्धी सामान्य ज्ञानसमेत छैन । यस रोगबाट बाहिर निस्कनुपर्छ । यसको उपचार सम्भव छ भन्ने कुरा मानिसहरुले बुझेका छैनन्, एकैचोटि गाह्रो भइसकेपछि मात्र अस्पताल जाने चलन छ,’ उनले भने । यही कारणले मानसिक रोगीहरुको संख्या बढ्दो मात्रामा रहेको डा. शर्माको भनाइ छ ।

मान्छको जीवनमा विभिन्न उतारचढावहरु आइरहन्छन् । जीवन सधैँ एकनास हुँदैन । कहिले नसोचेको, अपेक्षा नै नगरेको सफलता र हार दुवै मानिसले भोग्नुपर्ने हुन्छ । तर यी दुवैलाई स्वीकारेर अघि बढ्न सक्ने क्षमता निकै कममा हुने गर्छ । कतिचोटि जीवनमा आएका पत्याउनै नसकिने अपत्यारिला घटनाहरुले मानिसको भावानालाई क्षतविक्षत बनाइदिन्छ । जसले गर्दा त्यसबाट उठ्न लामो समय लाग्छ । मनमा चोट पर्छ, जुन चोटको प्रभाव कालान्तरसम्म रहिरहन्छ । यसले मानिसलाई विस्तारै गलाउँदै अन्तिममा मानसिक रोगका सिकार बनाउने डा. शर्मा बताउँछन् । उनी मानसिक रोगका शिकार बन्नुमा मुख्यतया दुई/तीन वटा कारण देखाउँछन् । जसमा जीवनमा घट्ने ठूला घटनाहरु, जस्तै धेरै विश्वास गरेको मान्छेबाट विश्वासघात हुनु, प्रियजन गुमाउनु, नसोचेको रोग लाग्नु, ऋणमा डुब्नुलगायत आदि ।

परिवारमा कसैलाई मानसिक रोग लागेको छ भने अन्य सदस्य र सन्तानलाई समेत यसले असर गर्छ । तर मानसिक रोग सर्ने रोग भने होइन । यति हो कि यो वंशाणुगत रुपमा परिवारमा कोही मानसिक बिरामी छ भने यसको प्रभाव सन्तानलाई पनि पर्न जाने सम्भावना हुन्छ । अर्को, यो रोग लाग्नुमा व्यक्तिको आनीबानीमा पनि भर पर्दछ । उसको व्यवहार कस्तो छ, उसको परिवार, समाजको वातावरण कस्तो छ, कतिको घुलमिल गर्छ, यसले असर गर्दछ ।

मानसिक तनाव हुँदा देखिने लक्षणहरु

जब मानिसलाई मानसिक तनाव हुन्छ, तब उसमा डिप्रेसन, निराशापन, थकाइ, छटपटी, अनिन्द्रा, एक्लोपनजस्ता समस्याहरु देखिन्छन् । व्यक्तिको व्यवहार र शारीरिक परिवर्तन देखिन्छन् । ती परिवर्तनहरु कस्तो खालको मानसिक रोग हो त्यसमा निर्भर हुन्छ । कसैलाई कडा खालको मानसिक समस्या हुन्छ, कसैलाई सामान्य । त्यहीअनुसार लक्षणहरु देखिन्छन् । मानसिक रोग लाग्दा कतिपयलाई पागलपनको समस्या पनि हुने गर्दछ । टाउको दुख्ने, शरीर भारी भएजस्तो हुने, शरीर पोल्ने लगायतका लक्षण हुन् । जुन दुई हप्तासम्म लगातर भइरहनु र त्योभन्दा बढी लामो समय भइरह्यो भने मानसिक रोग लागेको भनेर बुझ्न सकिन्छ ।

यो रोग लाग्दा एक्लै बस्न मन लाग्ने, अस्वभाविक व्यवहार देखाउने, निराश भइराख्ने हुन्छ, कहिले कता दुख्ने, कहिले कता दुखेजस्तो हुने हुने समस्या आउने डा. शर्मा बताउँछन् । ‘धेरै नै समस्या भइसकेपछि जँचाउन जाने गर्छन् । जाँच गर्दा पनि रिर्पोटमा केही पनि समस्या देखिँदैन । यसले गर्दा बिरामी झन् तनावमा हुन्छ, आफूलाई के भएको हो भन्ने कुराले झन् उसलाई डिप्रेस्ड बनाउँछ,’ डा. शर्मा भन्छन् । अस्पतालमा चेकअप गर्न आउने ४ जना बिरामीमध्ये १ जनालाई मानसिक रोग लागेकै हुने उनको भनाइ छ ।

मानिसक रोग लागेपछिको उपचार

डा. शर्माका अनुसार मानसिक रोगको उपचार सम्भव छ । नियमित औषधि सेवनले यो रोग पूर्ण रुपमा निको हुने उनको भनाइ छ । यो रोगको उपचार भनेको मेडिकल उपचार नै हो । रोग लागेको थाहा पाउनेबित्तिकै मानसिक रोग विशेषज्ञहरुसँग परामर्श लिन डा. शर्माको सुझाव छ । ‘जति चाँडो उपचार हुन्छ, त्यति छिटो निको हुने सम्भावना बढी हुन्छ,’ उनले भने । चिकित्सकलाई देखाएपछि सुरुमा काउन्सिलिङ गर्ने या औषधि चलाउने त्यो भने बिरामीको अवस्थाअनुसार तय हुने गर्दछ । काउन्सिलिङले नहुने रहेछ भने औषधि नै चलाउनुपर्छ । औषधि एक महिनादेखि ६ महिनासम्म वा त्योभन्दा लामो समयसम्म पनि चलाउनुपर्ने हुन्छ । औषधि नियमित नछुटाई खाने हो भने यो रोग निको हुन्छ ।

तर बिरामीले केही समय औषधि खाएपछि बीचमै छोडिदिँदा झन् समस्या बल्झिने हुन्छ । औषधि खान छोडेपछि पछि दो¥याएर उपचार गर्दा अर्को औषधि चलाउनुपर्ने हुन्छ । त्यसैले धेरैलाई यो रोग निको नहुने रोग भन्ने लागेको हो । ठीक तरिकाले औषधि खाने गरेमा पूर्ण रुपमा यो रोग निको हुन्छ । यस्तै व्यक्तिको क्रियाकलापले पनि यो रोग निको हुन समय लाग्छ । व्यक्तिले औषधि खाए पनि सही तरिकाले नखाइदिने, नकारात्मक सोचिराख्ने, म एक्लो छु, मेरो कोही छैन, म केही गर्न सक्दिनँ, मलाई बाँँच्न मन लाग्दैनजस्ता सोचाइले रोग निको हुन समय लाग्छ । ‘यसैले यस्ता व्यवहारमा व्यक्तिले परिवर्तन गर्नु जरुरी छ । सोचाई परिवर्तन गर्नु आवश्यक छ,’ डा. शर्मा सल्लाह दिन्छन् ।

मानसिक रोगमा परिवारको भूमिका

मानसिक रोग ठिक पार्न परिवारको पनि महत्वपूर्ण भूमिका हुन्छ । परिवारको साथ, सहयोग र हौसलाले व्यक्ति निको हुन सहयोग पुग्छ । परिवारमा कोही मानसिक तनावको शिकार भएका छन् भने हेला, घृणा गर्नुभन्दा सबैभन्दा बढी माया र उसको उचित हेरचाह गर्नुपर्छ । के गरिरहेछ, कता गइरहेछ ? उसको हरेक गतिविधि परिवारले ख्याल गर्नुपर्छ । ‘त्यस्तै व्यक्ति आफैँले आफ्नो मनलाई स्थिर राख्न सक्नुपर्छ, यस रोगलाई सामान्य रुपमा लिने गर्नुपर्छ । मलाई केही भएको छैन, मैले डाक्टरको सहयोग लिनुपर्छ, म पूर्ण रुपमा ठीक हुन्छु, भन्ने सोचले यो रोगबाट छुटकारा पाउन सकिन्छ,’ उनले भने ।

अस्पतालहरुमा मनोचिकित्सकको अवस्था

नेपालका अस्पतालहरुमा मनोचिकित्सक निकै नै कम संख्यामा छन् । १ लाख जनसंख्यामा ०.२२ प्रतिशत मात्र मनोचिकित्सक रहेको तथ्यांक छ । यो अत्यन्तै न्यून हो । जसमा पनि ०.६ प्रतिशत क्लिनिकल मनोचिकित्सक छन् ।

सरकारको सकारात्मक कदम

सरकारले पहिलाभन्दा मानसिक स्वास्थ्य क्षेत्रमा चासो दिएको पाइन्छ । पहिला स्वास्थ्य क्षेत्रमा लाखौँ बजेट छुट्याए पनि मानसिक स्वास्थ्यमा सरकारले चासो दिँदैन थियो । तर अहिले आएर यस क्षेत्रमा पनि बजेट छुट्याउन थालिएको छ । अहिले अञ्चल अस्पतालहरुमा मनोचिकित्सक राख्ने व्यवस्था लागू गरिसकेको छ । एउटा अञ्चल अस्पतालमा एउटा मनोचिकित्सक डाक्टर रहने भन्ने व्यवस्था गरेको छ । जुन राम्रो पक्ष हो । अब सरकारले पनि यस क्षेत्रमा बढीभन्दा बढी लगानी गर्नुपर्छ । ताकि सबैले सुविधा पाउन सकुन् । विपन्न र निम्न वर्गलाई समेट्न सकियोस् । विभिन्न संघसंस्थाले चेतनामुलक कार्यक्रमहरु ल्याउनुपर्छ ।

मानसिक रोगलाई हेर्ने दृष्टिकोण

यो रोगलाई नेपालमा मात्रै नभएर संसारभरी गलत दृष्टिकोणले हेर्ने गरिन्छ । १८औँ शताब्दीमा मानसिक रोगीहरुलाई जेलमा राख्ने प्रचलन थियो । मानसिक रोगीहरुसँग संगत गर्नुहुन्न, सम्बन्ध गाँस्नुहुन्न, विहे गर्नुहुन्न भन्ने मानसिकता हिजो पनि थियो, अहिले पनि छ । विहे नै गर्‍यो भने पनि उबाट जन्मेका सन्तानलाई समेत यो रोग सर्छ भन्ने भ्रम छ । तर वास्तवमा मानसिक रोगी र मानसिक रोग फरक कुरा हुन् । यसलाई मानिसले छुट्याउन सकेको छैन ।

यो रोग लागेपछि बिरामीप्रति गलत धारणा राख्ने, सहयोग नगर्ने, बिरामी स्वयंले तनाव लिएर बस्ने कारण अवस्था झन् जटिल बन्दै गइरहेको छ । त्यसैले रोग लाग्नुभन्दा पहिलै नै चेतना जगाउनु आवश्यक छ । एउटा व्यक्ति किशोरावस्थामा पुगिसक्दा उसलाई योसम्बन्धी सबै ज्ञान र चेतना दिन सकियो भने धेरै मात्र यो रोगबाट सुरक्षित हुन सम्भव हुन्छ । दोस्रो पुस्ता झनै सचेत हुनेछन् ।

नेपाललगायत अविकसित राष्ट्रहरुको तुलनामा विकसित राष्ट्रहरुमा मानसिक रोगबाट धेरै व्यक्ति ग्रसित छन् । तर ती देशहरुमा राम्रो पक्ष के छ भने, जब उनीहरु यो रोगबारे जानकार हुन्छन्, उनीहरु डाक्टरसँग परामर्श लिन्छन्, उपचार पद्धति अपनाइहाल्छन् ।

रोगलाई लुकाउने प्रयास

नेपालमा धेरैले यो रोगलाई लुकाएर राख्ने प्रयास गरिन्छ । जसले गर्दा धेरै बिरामी उपचारभन्दा बाहिर छन् । जसको कारण नेपालमा कति मानसिक रोगी छन् भन्ने यकिन गर्न गाह्रो छ । नेपालमा अनुमानित कुल जनसंख्याको ४ देखि ५ प्रतिशतलाई मानसिक रोग छ । तीमध्ये १० प्रतिशत वयस्कहरु यो रोगबाट ग्रसित छन् । मानसिक रोगीले रोगलाई लुकाएर राख्नुभन्दा जतिसक्दो चाँडो डाक्टरकहाँ गएर उपचार गराउनु पर्छ । आफूलाई के भइरहेको छ, कस्तो महसुस हुन्छ, सबै परिवारका सदस्य, साथीभाइसँग समस्या बाँडेर पनि धेरैले यसबाट लाभ लिन सक्छन् ।

उपचार सर्वसुलभ छ

अन्य शारीरिक रोगहरुको उपचारको तुलनामा यो रोगको उपचार निकै सस्तो छ । जोकोहीले उपचार गराउन सक्छन् । यसबारे सबैले जानकारी लिएर समयमै उपचार पद्धति अपनाउन सकिने डा. शर्मा बताउँछन् ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु