fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ भो, नराख कसैले प्रेम प्रस्ताव

भो, नराख कसैले प्रेम प्रस्ताव

प्रेम दिवस मनाइरहँदा
म अतीतका क्षणहरु सम्झिन्छु
नआइदिए हुन्थ्यो लाग्छ यो दिन
जसले निको भइसकेका मेरा घाउहरु बल्झाइदिन्छ
तिम्रो यादहरुले बेस्सरी सताइदिन्छ ।

तिम्रो अनुपस्थितिमा
मनले मनसँगै प्रश्न गर्छु
आफ्नै मनभित्रको मनसँग कुरा गर्छु
कति-कति विश्वास दिलाएर
आखिर घात गर्‍यौ किन ?
छोडी जानु रहेछ त,
हजार सपना देखाएर माया लगायौ किन ?
उत्तर पाएकी छैन मैले ।

इतिहास साक्षी छ
खोलानाला, झरना, सारा प्रकृति साक्षी छ
मन-मुटुदेखि नै माया साटेकै हो हामीले
तिमीले गुलाफ दिएको थियौ
कहिल्यै नछुट्ने वाचा गरेका थियौँ
ती उपहारहरु
छरपस्ट छन् कोठाभरि
तिमीले दिएको गुलाफ
ओइलिएर पत्रपत्र झर्दा पनि
फ्याँक्न सकेकी छैन, सँगालेर राखेकी छु ।

सबै चीज साथैमा छ
मात्र तिमी छैनौ
हिजो तिम्रो कल्पना गर्दै दिन बिताउने म
आजकाल तिमीलाई भुल्ने कोसिस गर्दै बाँचिरहेछु
पर-पर क्षितिजपारि सम्म रंगीन सपनाहरु थिए हिजो
तिमी नै नभएपछि छाडिदिएँ सपना सजाउन
लेखिँदै थियो अमर पे्रम कहानी तिम्रो र मेरो
बीचैमा तिमीले पात्र बदलेर अन्त्यै लाग्यौै
मैले कथा लेख्नै छोडिदिएँ
तिमी बदलियौ
म पनि बदलिएजस्तो गरिदिएँ
हिजो खुब फूल मन पराउने म
आजकाल काँडा मन पर्न थालेको छ ।

सायद म बदलिएँ
मसँगै मेरो मन बदलियो
इच्छा, रोजाइ सबै बदलियो
फूलभित्र सुवास खोज्दिनँ म अचेल
जसरी जीवनभित्र बाँच्ने आशाहरु देख्दिनँ
भन्छन्, फुल हो जीवन
तर जीवनलाई म काँडासँग दाँज्छु
भन्छु, ‘काँडा हो जीवन’ ।

इतिहासमा लेखिएका अमर प्रेम कहानीहरु
पढेको छु मैले, मुना-मदन रोमियो-जुलियटको कथा
प्रेमको गुरु भ्यालेन्टाइन
प्रेमकै कारण मारिएका थिए
यसरी प्रेमकै कारण ज्यान आहुति दिनुपर्छ भने
साँचो प्रेमको अन्त्यमा बिछोड नै हुन्छ भने
मायाको बदलामा नपुरिने चोट सहनुपर्छ भने
आज प्रेम साटेर भोलि बिछोड सहनुपर्छ भने
मलाई सह्य छैन यी कुराहरु ।

भो नराख कसैले प्रेम प्रस्ताव, म स्वीकार्ने छैन
मलाई फेरि अर्को बिछोड सहनु छैन ।

प्रकाशित समय १५:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु