fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ ‘एसियाकै ठूलो’ महाशिला ढुंगा

‘एसियाकै ठूलो’ महाशिला ढुंगा

खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने त्यो खेतको ढुंगा नेपालको मात्र नभएर ‘एसियाकै ठूलो’ ढुंगा भएको स्थानीयको दावी छ ।

करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको यो ढुंगा पर्वत घुम्न आउने पर्यटकका लागि आर्कषणको केन्द्र बनिरहेको छ । ढुंगा यति विशाल छ कि स्थानीय भन्छन्, ‘महाशिलालाई एक फन्को लगाइसक्दा एक कुटी भातसमेत पाकिसकेको हुन्छ ।’

ढुंगाकै नामबाट गाउँपालिकाको नामकरण गरिएको छ । केही समययता यो ढुंगाको चर्चा फैलँदो छ । विगतमा प्रचारप्रसारको अभाव र अस्थिर राजनीतिका कारण पनि यसले खासै चर्चा नपाएको स्थानीयवासीहरु बताउँछन् ।

पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा जीपमा यात्रा गरेपछि महाशिला ढुंगा पुग्न सकिन्छ । मोटरबाटोको सुविधा पुगे पनि हाल काम विशेष जाने पर्यटक मात्र त्यो क्षेत्रमा पुग्ने गरेका छन् । उचित प्रवद्र्धन हुनसके महाशिला ढुंगाले आन्तरिक तथा बाह्य पर्यटक तान्न सक्ने स्थानीयहरु बताउँछन् । गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरु निर्माण र होमस्टे सञ्चालन गरिएको छ । विभिन्न स्थानका ढुंगाकाबारे जानकारीमुलक होर्डिङबोर्ड समेत राखिएको छ ।

स्वामीले राखिदिए नाम
भारतका स्वामी नारायणले लामो समय गरेको तपस्या सफल भएपछि उनैले ढुंगाको नाम महाशिला राखेको किंवदन्ती छ । त्यसैले अहिले स्वामी नारायणको मूर्ति बनाउने तयारी भएको महाशिला गाउँपालिका- ५, का वडाध्यक्ष जीवन उचाइ ठकुरीले जानकारी दिए । खेतको बीचमा रहेको ढुंगा वरपर साना-साना ढुुंगाहरु छन् ।

गाउँपालिकाको लुंखु बजारबाट महाशिला ढुंगाको दृश्य निकै मनमोहक देखिन्छ । महाशिलासँगै धौलागिरी र माछापुच्छ्रे हिमालको मनमोहक दृश्यले जोकोहीको मन आकर्षित गर्छ ।

महाशिला ढुंगालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’ गठन भएको छ । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०२० मनाउँदै गर्दा यसको पूर्वाधार निर्माणको लागि ८२ करोड बजेट विनियोजन गरेको वडाध्यक्ष जिवन ठकुरी बताउँछन् । ‘महाशिला क्षेत्रको व्यवस्थापनको लागि अझै ३५ रोपनी जग्गाको आवश्यकता छ,’ उनले भने, ‘विभिन्न व्यक्तिबाट पनि जग्गा व्यवस्थापनको लागि पहल भइरहेको छ ।’

कसरी जाने ?
पर्वतको मध्य क्षेत्रमा रहेको महाशिला पुग्नका लागि विभिन्न सडक मार्गहरु रहेका छन् । यसमध्ये सदरमुकाम कुस्मा हुँदै फलेबास-लुंखुको सडक मार्ग मुख्य हो । ग्राभेल गरिएका कारण यातायातमा सहज हुने भएकाले महाशिला पुग्न यो मार्ग सबैभन्दा उपयुक्त मानिन्छ ।

पर्वतको मर्दिखोला हुवास, भोर्ले, सिम्ले हुँदै पनि महाशिला पुग्न सकिन्छ । गाउँपालिकाले विनियोजन गरेको ६ करोड ४३ लाख बजेटमा कुस्मा-मर्दीखोला सडकको स्तरवृद्धि कार्य भइरहको छ ।

दीर्घकालीन योजना
आन्तरिक र बाह्य दुवै पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ महाशिला ढुंगा । यसलाई उचित व्यवस्थापन गर्नको लागि गाउँपालिका लागि परिरहेको छ तर त्यो पर्याप्त भने छैन । महाशिला परिधिभित्र नै १०८ फिट अग्लो शिवको मूर्ति निर्माण गरेर यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने योजना रहेको वडाध्यक्ष ठकुरीको भनाइ छ ।

न्युजकारोबारसँग कुरा गर्दै उनले भने, ‘दीर्घकालीन योजनाअनुसार शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, २०० ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउने लगायतका योजनाहरु छन् ।’ महाशिला क्षेत्रमा १०८ धाराको निर्माण गर्नका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।

प्रकाशित समय १३:२६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु