fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ प्रदेश सरकारको अर्धवार्षिक बजेट खर्च १० प्रतिशत मात्रै

प्रदेश सरकारको अर्धवार्षिक बजेट खर्च १० प्रतिशत मात्रै

मुख्यमन्त्री कार्यालयकाे ०.३० प्रतिशत खर्च, भौतिक पूर्वाधार मन्त्रालयको १३.७१ प्रतिशत

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा शून्य खर्च भएको सुदूरपश्चिम प्रदेशमा ६ महिना बित्दा पनि विकासे बजेट खर्च एकदमै सुस्ताएको छ ।

प्रदेश सरकारको अर्धवार्षिक समिक्षाअनुसार ६ महिनामा १० प्रतिशत पुँजीगत खर्च भएको छ । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको चालू र पुँजीगत गरी जम्मा २८ अर्र्ब १६ करोड बजेट रहेकोमा पुँजीगततर्फ ६ महिनासम्म एक अर्ब ३४ करोड ५२ लाख खर्च भएको छ । जुन कुल पुँजीगत बजेटको १०.३ प्रतिशत मात्र खर्च भएको छ ।

शनिबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले धनगढीमा पत्रकार सम्मेलन गर्दै अर्धवार्षिक बजेट खर्च सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत वर्षको तुलनामा यस वर्ष खर्च प्रगति सन्तोषजनक रहेको बताए ।

उनले भने, ‘गत वर्षको पुँजीगत खर्चको तुलनामा यो वर्षको खर्च सन्तोषजनक नै छ । गत वर्ष यही समयमा १.४१ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको थियो । यो वर्ष त १० प्रतिशतभन्दा बढी खर्च भएको छ ।’

उनले सुदूरपश्चिम प्रदेश सरकारका विकासे योजनाहरु कार्यान्वयनका लागि खर्च भइरहेको बताए । मन्त्री बोहराले अहिलेको तथ्यांकमा खर्च कम देखिए पनि भौतिक प्रगति भने ३० प्रतिशतभन्दा बढी भएको दावी गरे । उनका अनुसार अबको ६ महिनामा बाँकी ९० प्रतिशत विकासे बजेट खर्च हुन्छ । उनले भने, ‘खर्च हुने समय अब सुरु हुँदैछ । आजसम्म नभएको यो ९० प्रतिशत आगामी ६ महिनामा ढुक्कले खर्च हुन्छ ।’

प्रदेश सरकार मातहत रहेका कार्यालयहरुमा सबैभन्दा बढी प्रदेश सभा सचिवालयले २० प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । खर्चअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुँजीगत खर्च ०.३० प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको २.४९ प्रतिशत खर्च भएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५.६२ प्रतिशत, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ६.४९ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६.२४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १३.७१ प्रतिशत र सामाजिक विकास मन्त्रालयको ४.९९ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।

गत वर्षको तुलनामा सरकारको बजेट खर्च २३९ प्रतिशतले वृद्धि भएको आर्थिक मामिला तथा योजनामन्त्री बोहराको दावी छ । उनका अनुसार गत आर्थिक वर्षको यसै अवधिमा ४.९५ प्रतिशत मात्रै बजेट खर्च भएको थियो ।

‘राजस्व संकलनमा समेत सुधार भएको छ,’ उनले भने, ‘चालू आर्थिक वर्षका लागि तोकिएको ८८ करोड ६४ लाखमध्ये हालसम्ममा ४९ प्रतिशत अर्थात् झन्डै ४० करोड ७ लाख राजस्व संकलन भइसकेको छ । यो तथ्यांक गत वर्षको भन्दा धेरै फरक हो ।’

प्रकाशित समय ११:१७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु