fbpx
corona information

गृहपृष्ठ कानुन कार्यान्वयन नहुँदा महिलामाथि बढ्दै घरेलु हिंसा

कानुन कार्यान्वयन नहुँदा महिलामाथि बढ्दै घरेलु हिंसा

हिंसामुक्त समाज निर्माणका लागि पहल गरिनुपर्नेमा जोड

हिंसामुक्त समाज निर्माणका लागि पहल गरिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । कार्यक्रममा सहभागी वीरेन्द्रनगर नगरपालिका २ की वडा सदस्य सरिता चौधरीले कानुन बलियो भए पनि कार्यान्वयनको कमीले महिलाहरु घरेलु हिंसाको सिकार बन्दै आएको बताइन् ।

‘जमिनमा महिलाको अपनत्व छैन,’ उनले भनिन्, ‘अ‍ैलानी जमिन हुनेहरुको हकमा मालपोतमा रोक्कासमेत गर्न नमिल्ने भएर सबै श्रीमानले बेचेका घटना छन् ।’ उनले महिलाहरु हिंसाको सिकार हुनुको प्रमुख कारण आर्थिक कारण भएको समेत औल्याइन् । हिंसामुक्त समाज निर्माणका लागि सबै तहको सरकार जिम्मेवार हुनुपर्ने चौधरीले तर्क गरिन् ।

कार्यक्रममा सहभागी वडा नम्बर १ का वडाध्यक्ष गंगाराम सुनारसमेत वडामा बालविवाहका कारण जन्मदर्ता लगायतका कागजी प्रक्रियामा झन्झट भएको बताए । ‘बालविवाहले हिंसा समेत निम्त्याउँछ,’ उनले भने, ‘अब हिंसामुक्त समाज निर्माणका लागि अभियानै सञ्चालन गर्नुपर्ने अवस्थ आएको छ ।’ सुनारले आफूहरु बालविवाह गर्नेहरुको विवाहमा नजाने र उमेर नपुगेको खण्डमा प्रहरीलाई समेत खबर गर्ने गरेको जानकारी दिए ।

वडा नं १० का वडाध्यक्ष रत्नबहादुर बुढाले जातीय विभेदसमेत हिंसाको अर्को रुप भएको बताए । ‘दलित भित्रै विभेद छ,’ उनले भने, ‘पहिले आफूभित्रको विभेदलाई हटाउन जरुरी छ ।’ उनले दलित भित्रपनि महिलाहरु अझै पीडामा बाँच्नुपरेको सुनाए । कार्यक्रममा सहभागी अधिकांशले हिंसामुक्त समाज निर्माणका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिएका थिए । शुक्रबार आवाज संस्था तथा वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सीमान्तकृत वर्गको न्यायमा पहुँच कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिलका सुर्खेतकी उपप्रमुख मोहनमायाँ ढकालले सरकारका प्रतिनिधिहरु कानुन कार्यान्वयन गर्ने तहमा रहेकोले यसमा सबैले ध्यान दिनुपर्ने बताइन् । ‘जसले सक्दैन उसको लागि न्याय हुनुपर्छ,’ उनले भनिन्, ‘कानुनमा के छ भन्ने कुरामा समेत कार्यान्वयन तहमा बस्नेहरु जानकार हुनुपर्छ ।’ उनले बालविवाह, बहुविवाहलगायतका कुनै पनि क्रियाकलाप कसैले पनि गर्न नहुने उनले बताइन् ।

आवाज संस्थाकी निर्देशक पवित्रा शाहीले महिलाहरु सम्पत्तिको अधिकारबाट बञ्चित हुँदा हिंसामा पर्नुपरेको बताइन् । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरु, जिल्ला बार एसोसिएसनका अध्यक्ष नन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु