fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ भारतसँगका नाका बन्दपछि स्थानीय बजारमा बढ्दो व्यापार

भारतसँगका नाका बन्दपछि स्थानीय बजारमा बढ्दो व्यापार

सीमावर्ती नाकाबाट आएको खाद्यवस्तु गुणस्तरहीन, राजस्व पनि उठ्दैन

कोरोना कहर सुरु भएपछि भारतसँगका नाका बन्द भएको ६ महिना बितेको छ । नाकाबाट मालबाहक गाडी र नेपाली नागरिकलाई मात्रै आउन दिइएको छ । सुदूरपश्चिमको मुख्य नाकाका रुपमा रहेको कैलालीको त्रिनगर नाकाबाट पनि मालबाहक समान तथा नेपाली नागरिक मात्रै आउने गरेका छन् । यि नाका बन्द भएपछि स्थानीय बजारमा व्यवसाय बढेको हो ।

अहिले दसैँको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण अधिकांश सेवा प्रभावित भए पनि बजारमा चहलपहल घटेको छैन । अहिले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चहलपहल बढेको हो । चाँडबाड लागेसँगै बिगतका वर्षमा नाकातिर निकै भिड हुन्थ्यो । एक किलो चिनी तथा साबुनका लागिसमेत यस क्षेत्रका नागरिकहरु सीमावर्ती बजार पलिया तथा बनगवाँमै पुग्थे ।

समैजी डिपाटैमेन्टल स्टोरका सञ्चालक भवानीसिं भण्डारीले भने, ‘केही सस्तो समान पाइने आशाले नेपाली नागरिक सीमावर्ती बजारमा पुग्ने गर्थे । तर, अधिकांश व्यक्ति ठगिएर फर्किन्थे । यता नेपाली बजारमा दसैँतिहार लागेको कुनै आभासनै हुन्थेन । यस वर्ष कोरोना महामारीकै बीच पनि व्यवसायी खुसी भएका छन् ।’

यहाँकै व्यापार बढ्दा सरकारलाई राजस्व बढ्ने र उपभोक्ताले सही समान पाउने भण्डारीको बुझाई छ । उनले भने, ‘धनगढीबाट अटो चढेर सय रुपैयाँभन्दा बढी त भाडामै खर्च हुन्छ । २ रुपैयाँ सस्तो चिनीका लागि हाम्रा नागरिक सीमावर्ती बजार पुग्थे । तर, उहाँहरुलाई उल्टै महँगोमा परिरहेको छु भन्ने थाहा हुँदैन थियो ।’

सामान्य समानका लागि पनि सीमावर्ती बजारमा जाने नेपालीहरु अहिले बाध्यताले स्वदेशकै पसलबाट समान खरिद गरिरहेको उनले बताए । ‘भारतबाट त्यसरी ल्याएको खाद्यवस्तुको गुणस्तर मापनसमेत हुँदैन । सरकारलाई पनि राजस्व जाँदैन ।’ उनले भने । अब नाकामा पूर्ण कडाइ गरी स–सानो सामान खरिदका लागि सीमावर्ती बजार जान बन्द गरिनुपर्ने माग राखे ।
दैनिक खाद्यान्न, लत्ताकपडा, तरकारीलगायतका समानका लागि यतिबेला सीमावर्ती बजारमा नेपालीहरुको भिड देखिन्थ्यो । स्थानीय बजार छोडेर उनीहरु भारतीय बजारमै पुग्थे । तर, कोरोना महामारीले उपभोक्ताहरु स्थानीय बजारबाटै किनमेल गर्न बाध्य भएका छन् । यसले स्थानीय क्षेत्रको व्यवसायमा टेवा पुगेको किराना व्यवसायी संघ कैलालीका कोषाध्यक्ष रामचन्द्र भट्टले बताए ।

नेपाली ग्राहकहरुलाई मात्रै लक्षित गरेर सञ्चालन भएका सीमावर्ती बजार बन्द हुनुपर्ने पक्षमा व्यवसायी छन् । भारतमा बिक्री नभएको गुणस्तरहीन सामानसमेत भारतीय व्यापारीले सीमावर्ती बजारमार्फत् बिक्री गर्ने गरेको गुनासो नेपाली व्यवसायीको छ । घरका लागि समान ल्याउँदा भन्सार छुटसँगै चेकजाँचसमेत नहुने हुँदा सरकारको राजस्व घाटासँगै उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको व्यवसायी बताउँछन् ।

सीमावर्ती बजारले व्यवसायीलाई घाटा एकातिर छ, अर्कोतिर सरकारलाई राजस्व नआउने र उपभोक्ताले मापदण्ड नपुगेकै खाद्यवस्तु उपभोग गर्नुपरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए । सीमावर्ती बजारका कारण उल्टै उपभोक्ता ठगिने हुँदा नाकाबाट बिना भन्सार तथा बिना चेकजाँच आयात हुने सम्पूर्ण समानमा कडाई गरिनुपर्ने उनको भनाई छ ।

 

प्रकाशित समय ०९:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु