fbpx
corona information

गृहपृष्ठ मेरो टिभीले निकाल्यो १५० कर्मचारी

मेरो टिभीले निकाल्यो १५० कर्मचारी

Mero TV_NewsKarobar

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले अबलम्बन गरेको घरबन्दीका कारण कम्पनी आर्थिक नोक्सानीमा गएको भन्दै निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूले कर्मचारीहरूलाई बेतलबी विदामा राख्ने, श्रम ऐनविपरीत रोजगारीबाट हटाउने क्रम तीव्र बनाएका छन् ।

यसै क्रममा डिभाइन स्ट्रिम नेटवर्क प्रालि (मेरो टिभी)ले लकडाउन (घरबन्दी)का कारण कम्पनी नोक्सानीमा गएको भन्दै आफ्ना १५० भन्दा बढी कर्मचारीलाई निष्कासन गरेको छ । **

श्रम ऐन २०७४ र त्यसको नियमावली २०७५ विपरीत कम्पनीले हठात् एकै पटक पत्र पठाइ सेवाबाट हटाइएको सूचित गरेको छ । स्काइ डिजिटल टिभीसमेत किनेर ठूलो नेटवर्क बनाएको डिभाइन स्ट्रिम नेटवर्कका सञ्चालकहरूले वेबसर्भरका स्वामित्वसमेत किनेका छन् ।

‘लकडाउनका कारणले सम्पूर्ण व्यापार एवं कारोबार ठप्प रहेकोले कम्पनीका कार्यरत कर्मचारीसमेत … सेवामा आउन नसकेको …अधिकांश कर्पोरेट ग्राहकले सेवा लिन अस्वीकार गरेको, कम्पनीबाट सञ्चालनमा रहेका सम्पर्क कार्यालय अधिकांश बन्द भएको, ग्राहकबाट रकम नउठेको आदि कारणबाट कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भइ कर्मचारीको तलब खुवाउन नसकेको’ भन्दै कर्मचारी कटौती गरिएको निष्कासन–पत्रमा उल्लेख छ ।

डिभाइन स्ट्रिम नेटवर्कका अध्यक्ष होम पाण्डेद्वारा हस्ताक्षित पत्रमा दुई वटा प्रतिष्ठान (मेरो टिभी र स्काइ टिभी) गाभिएका कारणले ‘ओभर स्टाफ’ भएको कारणसमेत जनाउँदै कम्पनी सञ्चालक समितिले कर्मचारी कटौती गर्ने निर्णय गरेको उल्लेख छ ।

श्रम ऐनको दफा १४ मा स्वामित्व परिवर्तन भए पनि रोजगारी कायमै रहने व्यवस्थाविपरीत कर्मचारीहरूलाई ‘ओभर स्टाफ’ भएको बहानामा घरबन्दीको संकटकालीन समयमै छानीछानी कर्मचारी निकालिएको हो ।

‘हामीले दसैंदेखि नै नियमित तलब–भत्ता र अन्य सुविधा पनि पाएका छैनौं, लकडाउनका समयमा एकै पटक निष्कासनको पत्र पठाएर हामीमाथि अन्याय भएको छ,’ निष्कासनमा परेका एक कर्मचारीले न्युज कारोबारसँग भने ।

श्रम ऐनविपरीत स्पष्टीकरणको मौकासमेत एकै पटक निष्कासनमा परेपछि पीडित कर्मचारीहरूले श्रम अदालतमा जाने तयारी गरेका छन् । यससम्बन्धमा प्रतिक्रिया लिन डिभाइन स्ट्रिम नेटवर्कका सम्पर्क गर्दा कोही पनि जिम्मेवार अधिकारीहरु सम्पर्कमा आउन चाहेनन ।

(**डिभाइन स्ट्रिम नेटवर्कबाट प्राप्त जानकारीअनुसार निष्कासित कर्मचारीका विवरण अद्यावधिक गरिएको)

प्रकाशित समय १२:१९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु