fbpx
corona information

गृहपृष्ठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ५८ प्रतिशत सकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ५८ प्रतिशत सकियो

सन् २०२१ को जुलाई १० भित्र निर्माण सम्पन्न गर्ने सम्झौता

सरकारले देशव्यापी घोषणा गरेको बन्दाबन्दीको अवस्थामा समेत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निरन्तर भइरहेको छ । कोभिड- १९ को त्रास भए पनि विमानस्थल निर्माणको काम रोकिएको छैन ।

हाल १ सय नेपाली र २ सय ५० चिनियाँ गरी ३ सय ५० कामदार दैनिक विमानस्थलको काममा खटिएका छन् । यसअघि विमानस्थल निर्माणमा २ सय ६२ नेपाली खटिएकामा १ सय ६२ जना लकडाउनको केही दिनअघि घर फर्किएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चीनको चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीबीच सन् २०१४ मा पोखरा विमानस्थल निर्माणको सम्झौता भएको थियो । २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्र निर्माण सम्पन्न गर्नेगरी २०७४ असार मसान्तदेखि विमानस्थलको काम सुरु भएको हो । विमानस्थलामा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजले उडान भर्नसक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्यांगर गरी ५८ प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । उनका अनुसार मुख्यगरी अहिलेसम्म दुई हजार ५ सय मिटर लामो र ४५ मिटर चौडाइको धावनमार्ग रन-वे तयार भएको छ ।

रनवेसँगै ह्यांगर, पार्किङ, ट्याक्सी-वेका काम सकिएको तथा विमानस्थलमा निर्माण गरिने विभिन्न १४ वटा भवनमध्ये हालसम्म अधिकांश भवनको ‘सिभिल वर्क’ को काम सम्पन्न आयोजना प्रमुख मुनाकर्मीले बताए । ‘विमानस्थमा आवश्यक पर्ने सामग्री भारतको कोलकाताबाट आउने गर्छ । तर अहिले लकडाउनका कारण निर्माण कार्यका लागि आवश्यक पर्ने कतिपय सामान भित्र्याउन सकेका छैनौँ । सामान्य गिटी-बालुवा मात्र ढुवानी गरेका छौँ,’ उनले भने ।

विमानस्थलमा आइसोलेडेट पार्किङको ‘सव-वेश’ तथा भित्री पहुँचमार्ग निर्माण, सिँचाइका नाला निर्माण तथा सबै भवनको छाना हाल्ने काम र ‘हाइ मस्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान सकिएको छ । विमानस्थलबाट बाहिर निस्कने प्रमुख सडक, कार पार्किङ र टर्मिनल भवनको वरिपरिको सडक पक्की गर्ने काम पनि सकिएको उनले बताए । ‘मुख्य टर्मिनल भवनमा स्टिल संरचनाको काम भइरहेको छ । अन्य भवनमा डेकोरेशन, फिनिसिङ र विद्युतीकरणको काम जारी छ । लकडाउनका अवधिमा एक दिन पनि काम रोकिने अवस्था आएको छैन,’ आयोजना प्रमुख मुनकर्मीले भने ।

पोखरा महानगरपालिका- १४ मा रहेको जग्गामा चिनियाँ सरकारको स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको हो । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीलाई ठेक्का दिएको थियो ।

प्रकाशित समय २०:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु