fbpx
corona information

गृहपृष्ठ ‘खबर’को पर्खाइमा सुष्मा चेपाङको परिवार

‘खबर’को पर्खाइमा सुष्मा चेपाङको परिवार

धेरै पटक पसल पुगिसकिन्, कहिले फोनबाटै सोध्छिन्

यतिखेर मानिसहरु एकातिर कोरोना संक्रमणको त्रासमा छन् भने अर्कोतिर दैनिक उपभोग्य सामान नपाएर चिन्तामा । देशभर लकडाउन घोषणा भएपछि यस्ता वस्तुहरुको अभाव हुनु स्वभाविक पनि हो । सरकारले खाद्यान्न, दाल, नुन, चामल, ग्यास लगायतको अभाव नहुने बताइरहेको छ । तर  सर्वसाधारण भने समस्यामा छन् ।

खाना पकाउने ग्यास नपाउँदा कठिनाइ झेल्ने धेरै छन् । विशेष गरेर सहरी क्षेत्रका वासिन्दा समस्यामा छन् । पैसा र पहुँच हुनेहरुले ग्यास थुपारे पनि नसक्ने परिवारलाई भने भएको खानेकुरा पकाएर खानका लागि अनेक विकल्प खोज्नु पर्ने बाध्यता छ ।

‘पसलमा ग्यासको कुरा गरेको १ महिना भइसक्यो तर पाउन सकेको छैन । पसलमा भएर पनि छैन भनेको हो कि साँच्चै नै ग्यास नभएको हो, थाहा छैन । घरमा खाना पकाउनै नपाएपछि दाउरा बालेर खाना पकाइ खाइरहेका छौँ ।’

‘ग्यास समस्या’को यो बेलिविस्तार हो, ललितपुर, ठेचोमा बस्दै आएकी सुस्मा चेपाङको । उनले एक महिनादेखि ग्यास बाल्न पाएकी छैनन् । चितवन घर भएकी उनी श्रीमान र छोरीसहित ठेचोमा बस्न थालेको तीन महिना मात्र हुँदैछ । उनी बसेकै टहरामा चार चेपाङ परिवार उनको छिमेकी बनेका छन् ।

ग्यासको लागि सुस्माले पसलमा पैसा पनि बुझाइसकेकी छन् । उनी पटक-पटक ग्यास आए/नआएको बुझ्न पसल पुगिसकिन्, कहिले फोनबाटै सोध्छिन् । तर पसलेको एउटै जवाफ छ, ‘आएपछि खबर गरुँला’ । ग्यासको विकल्पमा सरकारले विद्युतीय (इन्डक्सन)चुल्हो सहुलियतमा उपलब्ध गराएकोबारे सुष्मालाई मात्रै होइन, उनको चारै छिमेकीसमेत अनभिज्ञ छन् । समस्या आई लागेपछि र समाधान नभेटेपछि सुष्माको परिवारको विकल्प बनेको छ, दाउरा । पसलेकाे ‘खबर’ पर्खंदै दाउरा बालेर धुवाँमा खाना बनाउनु उनकाे दैनिकी हो ।

श्रीमान सुदिप र उनी ज्यामी काम गर्छन् । तर लकडाउन भएपछि उनीहरु काममा जान पाएका त छैनन् नै, दुई छाक टार्नसमेत अनेक समस्या आइलागेको छ । ‘लकडाउन कहिले खुल्ने हो, काम पनि गर्न पाएका छैनौँ । छिट्टै लकडाउन खुलेको भए काममा जान पाइन्थ्यो,’ उनी भन्छिन् । तीन महिनाअघि दमाईंटारबाट उनीहरु ठेचोमा आएका हुन् । नयाँ ठाउँ भएकाले चिनजान नहुँदा पनि समस्या भएको उनीहरुको भनाइ छ ।

‘आर्थिक अवस्था कमजोर हुनेहरुलाई सरकारले राहत बाँड्दैछ’ भन्ने कुरा सुष्मा र उनको श्रीमानले नसुनेका होइनन् । तैपनि उनीहरुले राहतको लागि चासो दिएका छैनन् । कारण उनीहरुलाई राहत लिन वडा कार्यलाय कहाँ छ भन्ने नै थाहा छैन ।

कम उमेरमै विवाह गरेकी उनले साधारण शिक्षासमेत लिएकी छैनन् । उनी स्थानीय बासिन्दालाई सोधेर वडा जान त सक्थिन् होला तर अरुसँग बोल्न पनि उनलाई धक लाग्छ । ‘नचिनेको मान्छेसँग बोल्नै डर लाग्छ । सरकारले दिएको राहतमा खासै आस त छैन । पाइहाले एक/दुई छाक टथ्र्यो कि भन्ने चाहिँ लागेको छ,’ सुष्मा भन्छिन् ।

सो टहरामा बस्ने सबै परिवार मजदुरी गरेर नै जीवन चलाउँछन् । सबैको अवस्था उस्तै छ । अर्को कोठामा बस्दै आएकी शर्मिला चेपाङले पनि ग्यास बाल्न नपाएको तीन हप्ता भयो । उनले पनि सुस्माले जस्तै दाउरा बालेर खाना बनाउँदै आएको बताइन् । ‘यहाँ जंगल पनि छैन । अहिलेसम्म यही टहरा छेउछाउबाट ल्याएर काम चलाउँदै छु,’ उनले समस्या सुनाइन् ।

सरकारले ग्यास बाँडिरहेको भन्ने सुने पनि नजिकैको पसलबाहेक अरु ठाउँ कहाँ ग्यास पाइन्छ भनेर  थाहा नभएको उनीहरु बताउँछन् । दम्पत्ति नै ज्यामी काम गर्ने उनीहरु लकडाउन थपिदै जाँदा झनै पिरोलिएका छन् । ‘हामीजस्ता मजदुरी गरेर खानेहरुका लागि काम गर्न नपाउनु जतिको पीडा अरु के हुन्छ र,’ शर्मिला सुस्केरा हाल्छिन्, ‘जता सम्झ्यो उतै पीर ।’ सुष्मा र शर्मिलाको परिवारमा ग्यास सकिएको समस्या मात्र होइन । अरु समस्या अनेक छन् । ग्यास पाइहाले पनि भान्सामा रासनपानी रित्तिँदै जान थालेको छ ।

सरकारले केही दिनदेखि विपन्नहरुका लागि राहत वितरण गरिरहेको छ । वडा कार्यालयमा फाराम भरेपछि पाइने त्यस्तो राहतमा हुनेखानेहरुकै हालीमुहाली भइरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् । तर सुष्मा र सर्मिला जस्ताको परिवार भने राहतबाट विमुख छन् । रोगबाट बच्न लकडाउनको पालना गर्ने क्रममा सुष्मा र शर्मिलाको परिवार मात्र होइन,अरू धेरैले यसरी नै आवश्यकताहरूको अभाव झेलिरहेका हुन सक्छन् । यसतर्फ स्थानीय जनप्रतिनिधिहरुको भने खासै ध्यान पुगेको छैन ।

प्रकाशित समय १७:१७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु