fbpx
corona information

गृहपृष्ठ कोरोनाले बाँचे पनि खान नपाएर मर्ने डर

कोरोनाले बाँचे पनि खान नपाएर मर्ने डर

खाद्यान्न र नगद मौज्दात नभएकाहरुको दैनिकी क्रमश: कष्टप्रद

कोरोना भाइरस संक्रमणको जोखिमविरुद्ध उच्च सतर्कता अपनाउँदै सरकारले चैत ११ देखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको छ । यस अवधिमा अत्यावश्यक सेवाबाहेक शैक्षिक संस्था, कलकारखाना, सरकारी कार्यालयहरु बन्द छन् ।

संक्रमणको जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ । लकडाउको करिब पालना पनि भएको छ । पहिलो दिन मानिसहरुको चहलपहल पूर्ण बन्द नभएपछि कतिपय स्थानमा सेनासमेत परिचालन गरियो । यद्यपि हिँडडुल र आवातजावत ठप्पै हुन भने सकेको छैन । सर्वसाधारणलाई सुरक्षाकर्मीहरुले बाहिर ननिस्कन आग्रह गरिरहेका छन् । सुरक्षामा खटिएका प्रहरीले बाहिर भेटिएकाहरुलाई सोधपुछ गरेर घरतिरै फर्काइरहेका छन् ।

जनताकै सुरक्षाका लागि लकडाउन गरेको भए पनि यसबाट विपन्न परिवार भने नराम्ररी प्रभावित हुँदै गएका छन् । खासगरी दैनिक ज्याला-मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवार समस्यामा पर्दै गएका छन् । खाद्यान्न वा नगद मौज्दात नभएका उनीहरुको दैनिकी क्रमशः कष्टप्रद बन्न थालेको छ ।

नजिकका पसलहरु बन्द भएपछि स-साना सामान किन्न पनि टोलभरि चहार्नु परेको ललितपुर सुनाकोठीकी मनु चेपाङले बताइन् । अलि पर जान खोजे सुरक्षाकर्मीले रोक्ने, नजिकैका पसल नखुल्ने, खुले पनि सामान नपाउने भएकाले दैनिकी असहज हुन थालेको उनले सुनाइन् । ‘लकडाउन हामी जनताकै लागि हो । तैपनि पैसा र सामानको जोहो नभएकाहरुका लागि त अत्यन्त गाह्रो हुने रहेछ,’ उनले भनिन् ।

हालसम्म नेपालका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यसमध्ये एकजना निको भइसकेका छन् । भने बाँकीको उपचार भइरहेको छ । संक्रमण भित्रिन नदिन संघीय तथा प्रदेश सरकारदेखि लिएर स्थानीय तहहरुले पनि क्वारेन्टाइन र आइसोलेन कक्षहरु निर्माण गरिरहेका छन् ।

सुनाकोठीमै भेटिएकी एक महिलाले पनि तेल, दाल, ग्याँस, चामल सकिँदै गएकाले चिन्ता लाग्न थालेको बताइन् । ‘सरकारले सामान भण्डारण नर्गन, नआत्तिन भनेको समाचार सुनेपछि त्यति वास्ता गरिएन । अहिले पसलहरु खुलेका छैनन् । खुलेकामा पनि सामान सकियो भन्छन्,’ उनले समस्या सुनाइन्, ‘बन्द अझै लम्बियो भने त कोरोनाले बाँचे पनि भोकैले मरिन्छ होला ।’

ललितपुर चिबहालका किराना व्यापारी माईला महर्जनले पसलमा सामान सकिँदै गएको बताए । उनले भने, ‘होलसेल पसलहरु पनि बन्द छन् । ढुवानी गर्नेहरु पनि घर गए । हामीले पनि सामान भए पो बेच्ने हो ।’

गलैँचा बुनेर जीविकोपार्जन गर्दै आएकी ललितपुरकी सम्झना तामाङले कारखानासमेत बन्द भएपछि बढी चिन्ता लागेको बताइन् । ‘गलैँचा मास्टरले चैतभर काममा नआउनु भनेको छ । काम नगरी दाम पाउने कुरा भएन,’ उनले दुखेसो सुनाइन्, ‘अब खोले खान पनि नपाइने भइयो । अनि कसरी बाँच्नु ?’ उनले कोरोनाभन्दा पनि काम बन्द हुँदा हातमुख जोर्ने समस्याले आफूहरु मर्ने बताइन् । यस्तो बेला कालोबजारीका कारण कतिपय सामानको मूल्य बढेकाले छाक टार्न अझ असहज भएको उनको गुनासो थियो ।

कामको खोजीमा रहेका रिक्सा चालक काठमाडाैंको क्षेत्रपाटीमा ।

ललितपुरको ठेचोमा मूर्ति कालिगढको काम गर्ने एक युवकले ग्यास नपाएको समस्या सुनाए । चिबहालमै भेटिएका उनले भने, ‘६ दिन धाइसकेँ, ग्यास पाएको छैन । काम गर्न नपाएको पनि १ हप्ता भइसक्यो । साहुले पैसा पनि दिएको छैन । भूकम्पमा भन्दा पनि ठूलो फसाद आइलाग्यो ।’ आफूसँगै भाडामा बस्नेहरु कसैको ग्यासको, कसैले चामलको त कसैले पैसाको समस्या भोगिरहेको उनले सुनाए ।

सरकारले गरेको निर्णय कोरोना संक्रमणबाट जोगाउने हिसाबले सही भए पनि ‘दिउँसो काम गरेर साँझ–बिहान छाक टार्ने’हरुका लागि चिन्ताको विषय बनिरहेको छ । उनीहरुले सरकारको तर्फबाट राहतको व्यवस्था गरिनुपर्ने माग गरेका छन् । केही व्यक्तिले विपन्न परिवारका लागि सामान्य रुपले एक महिनासम्म गुजारा चलाउन पुग्नेगरी आर्थिक सहयोग गरेका छन् । कतिपयले खाद्यान सहयोग गर्ने घोषणा गरेका छन् भने कतिपय घरधनीले एक महिनाको भाडा नलिने भएका छन् ।

हालसम्म नेपालका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यसमध्ये एकजना निको भइसकेका छन् । भने बाँकीको उपचार भइरहेको छ । संक्रमण भित्रिन नदिन संघीय तथा प्रदेश सरकारदेखि लिएर स्थानीय तहहरुले पनि क्वारेन्टाइन र आइसोलेन कक्षहरु निर्माण गरिरहेका छन् ।

प्रकाशित समय १८:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु