fbpx
corona information

गृहपृष्ठ नेपालमा धानको उत्पादन २० हजार मेट्रिक टनले घट्ने

नेपालमा धानको उत्पादन २० हजार मेट्रिक टनले घट्ने

Rice_NewsKarobar तस्बिर साैजन्यः द्वारिका थेबे

यो वर्ष (सन् २०२०/२१) मा नेपालमा धानको उत्पादन २० हजार टनले घट्ने अमेरिकी कृषि विभाग (यूएसडीए)ले जनाएको छ । यूएसडीएले सार्वजनिक गरेको विश्व कृषि उत्पादन परिदृष्यअनुसार यस वर्ष नेपालमा ३६ लाख ८० हजार मेट्रिक टन धान उत्पादन हुनेछ ।

प्रतिवेदनअनुसार यो गत वर्षभन्दा २० हजार मेट्रिक टन कम हो, सन् २०१९ मा नेपालमा ३७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षका अनुपातमा ०.६० प्रतिशतले नेपालमा धानको उत्पादन घट्ने प्रतिवेदनमा उल्लेख छ ।

यद्पि, अमेरिकी कृषि विभागले उल्लेख गरेको तथ्यांक यहाँका कृषि मन्त्रालयका तथ्यांकभन्दा धेरै कम हो । कृषि मन्त्रालयका अनुसार गत वर्ष अर्थात २०७६ सालमा नेपालमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

कृषि मन्त्रालयले गत वर्ष समयमा रोपाई हुन नसकी केही जमिन बाँझो रहेको, मनसुन ढिलो सुरु भएको, केही स्थानमा किराको प्रकोप तथा बीउका समस्या जस्ता प्रमुख कारणहरु देखाएको थियो ।

यसरी धानको उत्पादन लगातार घट्दै जाँदा यसले देशको आर्थिक वृद्धिदरमा पनि सोझै प्रभाव पार्छ । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको कुल योगदानमध्ये धानको हिस्सा २० प्रतिशत छ ।

अमेरिकी कृषि विभागका विश्व कृषि उत्पादन परिदृष्यमा भारत, पाकिस्तान, रोमानिया, ब्राजिल, युक्रेन, साउथ अफ्रिकालगायतका देशहरूको केही कृषि वस्तुको विस्तृत लेखाजोखा गरिए पनि नेपालका सामान्य तथ्यांकमात्र उल्लेख छ ।

यहाँको कृषि मन्त्रालय र अमेरिकी कृषि विभागका तथ्यांकमा धान खेती गरिएको क्षेत्रफल भने करिब-करिब मिल्छ । अमेरिकी कृषि विभागका अनुसार धान खेती गरिएको क्षेत्रफल १४ लाख ९० हजार हेक्टर छ भने कृषि मन्त्रालयको विवरणमा यो अनुपात १४ लाख ५८ हजार हेक्टर भएको उल्लेख छ ।

सन् २०१९/२० मा नेपालको १४ लाख ६० हजार हेक्टरमा धान खेती गरिएको अमेरिकी कृषि विभागका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले गत वर्षका तुलनामा धान खेती गरिएको क्षेत्रफल बढेको भए पनि धानको उत्पादन र उत्पादकत्व दुवै घट्ने देखाएको छ ।

समयमा रासायनिक मल नपाउनु, फौजी कीराका प्रकोप, समयमा रोपाइँ नहुनुजस्ता कारणले धानको उत्पादन घट्ने देखिएको हो । यसबाहेक उन्नत बीउबिजनको अभाव, रासायनिक मलको अभावलगायतका कारणले पनि नेपालमा धानको उत्पादन र उत्पादकत्व घट्ने अनुमान गरिएको छ ।

यो वर्ष धानको उत्पादकत्व पनि घट्ने अमेरिकी कृषि विभागले प्रक्षेपण गरेको छ । प्रतिवेदनमा गत वर्ष नेपालमा धानको उत्पाकदत्व प्रतिहेक्टर ३ हजार ८ सय किलो भएकोमा यस वर्ष घटेर ३ हजार ७ सय किलोमा खुम्चिने प्रक्षेपण गरिएको छ ।

अमेरिकी कृषि विभागले यस वर्ष नेपालमा गहुँ र मकैका उत्पादन भने क्रमसः १० हजार र ७० हजार मेट्रिक टनले बढ्ने जनाएको छ । प्रतिवेदनअनुसार गहुँको उत्पादन गत वर्षको २२ लाख मेट्रिक टनबाट बढेर २२ लाख १० हजार टन पुग्नेछ भने मकैको उत्पादन २६ लाख ५० हजार टनबाट बढेर २७ लाख १० हजार १० टन पुग्नेछ ।

प्रकाशित समय १६:१२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु