fbpx
corona information

गृहपृष्ठ कर्णालीका किसान रोपाइँमा व्यस्त, ३६ प्रतिशत सम्पन्न

कर्णालीका किसान रोपाइँमा व्यस्त, ३६ प्रतिशत सम्पन्न

कर्णालीका अधिकांश किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । प्रदेशका सबै जिल्लामा रोपाइँको चटारो छ । चैतदेखि सुरु हुने रोपाइँको मैजारु साउनसम्म पनि कर्णाली प्रदेशमा हुँदैन । यो वर्ष भने विगत वर्षहरुभन्दा छिटो रोपाइँ सकिने कृषि विज्ञहरुले बताएका छन् । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा ३६ प्रतिशत रोपाइँ सकिएको छ ।

प्रदेशका केही जिल्लामा रोपाइँ सकिनै लागेको छ भने कतै भर्खरै सुरु भएको छ । जुम्लामा सबैभन्दा बढी ९६ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बलराम देवकोटाले जानकारी दिए । जुम्लामा चैतदेखि नै रोपाइँ सुरु हुन्छ ।

डोल्लामा पनि ७५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी गोरखबहादुर बुढाले बताए । त्यस्तै हुम्लामा ७० प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय प्रमुख चन्द्रभुषन झाले जानकारी दिए । त्यस्तै सल्यानमा पनि ७० प्रतिशत रोपाइँ सकिएको छ । मुगुमा ६० प्रतिशत, जाजरकोटमा ४५ प्रतिशत, कालिकोटमा ३० प्रतिशत, रुकुम पश्चिममा ३० प्रतिशत र दैलेखमा २५ प्रतिशत रोपाइँ सकिएको सम्बन्धित जिल्ला कृषि विकास कार्यालयहरुले जानकारी दिएका छन् ।

सबैभन्दा कम सुर्खेतमा १० प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत यामबहादुर रानाले बताए । उनका अनुसार अहिले किसानले अघिल्ला वर्षभन्दा छिटो रोपाइँ सक्नेछन् । ‘यो वर्ष वर्षाले साथ दिएको छ,’ उनले भने, ‘त्यसैले समयमै बीउ राख्न र रोपाइँ गर्न सम्भव भएको हो ।’ यो वर्ष धान उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ । ‘सबै रोपाइँ सकिएपछि कति हेक्टरमा रोपाइँ भयो सोही अनुसार कति प्रतिशत उत्पादन बढ्छ भन्ने थाहा हुन्छ,’ उनले भने ।

कर्णालीमा धानखेतीयोग्य जमिन ४९ हजार हेक्टर
कर्णाली प्रदेशभर धानखेतीयोग्य जमिन ४९ हजार ४२५ हेक्टर छ । यसमध्ये १७ हजार ५०६ हेक्टरमा धान रोपाइँ भइसकेको छ । त्यस्तै सुर्खेतमा १३ हजार ५०२, सल्यानमा ७ हजार ७८, दैलेखमा ८ हजार ३०१, जाजरकोटमा ३ हजार ७०, कालिकोटमा २ हजार ५७७, जुम्लामा २ हजार ८००, हुम्लामा ५७४, मुगुमा ४ हजार १६७, डोल्पामा २७६ र रुकुम पश्चिममा ७ हजार ८० हेक्टर जमिनमा धानखेती हुन्छ ।

हालसम्म सुर्खेतमा १ हजार ३५०, सल्यानमा ४ हजार ६०१, दैलेखमा ८३०, जाजरकोटमा १ हजार ८४२, कालिकोटमा ६९६, जुम्लामा २ हजार ६६०, हुम्लामा ४०२, मुगुमा २ हजार ५८४, डोल्पामा २७६ र रुकुम पश्चिमा २ हजार २६६ हेक्टरमा रोपाइँ भइसकेको बागवानी अधिकृत रानाले जानकारी दिए ।

कर्णाली प्रदेशभर २५ लाख २५ हजार २७५ हेक्टर जमिन रहे पनि २ लाख ९९ हजार ३३९ हेक्टरमात्र खेतीयोग्य ।

कर्णाली प्रदेशभर २५ लाख २५ हजार २७५ हेक्टर जमिन रहे पनि २ लाख ९९ हजार ३३९ हेक्टरमात्र खेतीयोग्य रहेको भूमि कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार सुर्खेत २ लाख ४८ हजार ८६३ हेक्टर जमिन भए पनि खेतीयोग्य जमिन ५५ हजार २०० हेक्टर छ । त्यस्तै रुकुम पश्चिममा १ लाख २१ हजार ३४९ हेक्टर जमिन रहेकोमा ३५ हजार ३६० हेक्टर जमिन खेतीयोग्य छ ।

सल्यानमा १ लाख ९३ हजार ७५२ हेक्टर जमिन रहेकोमा ४५ हजार ५४६ हेक्टर खेतीयोग्य छ । दैलेखमा १ लाख ४८ हजार ५५७ हेक्टर जमिन भएकोमा खेती भने ४३ हजार १२१ हेक्टरमा मात्र गरिन्छ । जाजरकोटमा २ लाख २२ हजार ३३५ हेक्टरमध्ये २५ हजार ३८४ हेक्टर, डोल्पामा २ लाख ४६ हजार ८९ हेक्टरमध्ये ९ हजार ३०० हेक्टर, जुम्लामा २ लाख ५५ हजार ५१५ हेक्टरमध्ये ३९ हजार ४८६ हेक्टर, कालिकोटमा १ लाख ६४ हजार १३० हेक्टरमध्ये १७ हजार ९८४ हेक्टर, मुगुमा ३ लाख २३ हजार ४५० हेक्टरमध्ये १९ हजार ३४० र हुम्लामा ६ लाख १ हजार २३५ हेक्टर जमिन मध्ये ८ हजार ६१८ हेक्टर जमिन खेतीयोग्य छ ।

३१ प्रतिशत मात्रै सिँचाइ
कर्णाली प्रदेशको कुल खेतीयोग्य जमिनमा ३१ प्रतिशतमात्रै सिँचाइ सुविधा छ । प्रदेशभरको खेतीयोग्य जमिन २ लाख ९९ हजार ३३९ हेक्टरमध्ये ६८ हजार ३३५ हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको कृषि मन्त्रालयले जनाएको छ । रुकुम पश्चिमा २७.७२ प्रतिशत, सल्यानमा १९, सुर्खेतमा ६०.६९, दैलेखमा २८.३६, जाजरकोटमा ४७.५४, डोल्पामा २७.९७, जुम्लामा १२.९९, कालिकोटमा ६१.१९, मुगुमा १०.४७ र हुम्लामा २१.९९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छ । वर्षभरमा ३८ हजार ३३ हेक्टरमा सिँचाइ पुग्ने गरेको छ बाँकी ३० हजार ३०२ हेक्टरमा आंशिक रुपमा सिँचाइ पुग्ने गरेको मन्त्रालयको तथ्यांकमा छ ।

प्रकाशित समय १२:२२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु