fbpx
Nepal Mediciti

गृहपृष्ठ बिर्तामोड नगरपालिकामा गोबर ग्यास प्रयोगमा जोड

बिर्तामोड नगरपालिकामा गोबर ग्यास प्रयोगमा जोड

झापाको बिर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ ।

गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय-समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले बिर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घरघरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान गरिरहेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा १ सय घरमा खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासका प्लान्ट जडान गरेको थियो । गोबर ग्यास राख्न अधिकांश कृषकले चासो देखाएपछि चालु आर्थिक वर्षमा पनि नगरपालिकाले थप २ सय घरमा निःशुल्क गोबर ग्यासका प्लान्ट निर्माणको काम सुरु गरेको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

बिर्तामोड नगरपालिका-४ स्थित कृष्णप्रसाद उप्रेतीको घरमा इजराइली मोडलको होमबायो ग्यासको प्लान्ट जडान कार्यको उद्घाटन गर्दै नगरप्रमुख शिवाकोटीले पशुपालन गर्ने कृषकका लागि नगरपालिकाले गोबर ग्यास जडान गर्न विशेष पहल गरेको र पशुपालन व्यवसायलाई समेत प्रोत्साहन गरेको बताए । पशुपालन व्यवसायको प्रवर्द्धनका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले बताए । उनले भने, ‘अब किन चाहियो सिलिन्डर ग्यास, नगरपालिकाले नै पशुपालन गर्न अनुदान दिन्छ, त्यही पशुले गोबर दिन्छ, त्यही पशुको गोबरबाट ग्यास प्रयोग गर्न सकिन्छ, गोबर ग्यासका प्लान्ट पनि नगरपालिकाले घरघरमा खोजीखोजी जडान गरिरहेको छ ।’

‘नेपाल बायोग्यास प्रवर्द्धन संघ प्रदेश नं १ ले बिर्तामोड नगरपालिकामा पहिलो पटक इजरायली मोडलको बायोग्यास जडान सुरु गरेको छ नगरप्रमुख शिवाकोटीले भने, ‘यसका लागि नगरको सहयोग छ, यो नयाँ प्रविधिको गोबर ग्यास जडान एकै दिनमा गर्न सकिने रहेछ, अब किन चाहियो सिलिन्डर ग्यास ।’ पशुपालन गर्नुहोस् घरघरमा नगरपालिकाले यस्तै प्रविधिको गोबर ग्यास निःशुल्क जडान गरिदिन्छ उनको भनाइ छ ।

सात घनमिटरको गोबर ग्यास प्लान्ट नेपालका लागि पहिलो हुने र १५ वर्षसम्म यसको वारेन्टी रहने भन्दै नेपाल बायोग्यास प्रवर्द्धन संघ प्रदेश १ का सचिव तथा लोककल्याण गोबर ग्यास कम्पनी प्रालिका कार्यकारी अध्यक्ष सन्तोष उप्रेतीले दुई घण्टामै यो प्लान्ट जडान गर्न सकिने र यो प्रविधिले कृषकलाई अन्य ग्यासको तुलनामा विशेष फाइदा पुग्ने बताए ।

उनले यो प्लान्ट जडान गर्दा खाल्डो खनिरहनु नपर्ने र ब्यागजस्तै जमिनमाथि नै राख्न सकिने बताए । २० हजार रूपैयाँमै यो प्लान्ट जडान गर्न सकिने र एकपटक गोबर भरेपछि  चार घण्टासम्म नियमित ग्यास चलाउन सकिने उप्रेतीको भनाइ छ । (रासस)

प्रकाशित समय ११:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु