fbpx
Nepal Mediciti

गृहपृष्ठ माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन गरिएको माटो जाँचले सकारात्मकक परिणाम दिएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन् ।

गत वर्ष ७५ प्रतिशत अनुदानमा बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन् । भेरी नगरपालिकाले गाउँगाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लीयपन पत्ता लगाएर सोहीअनुसारका बीउ सिफारिस गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

कृषक समूहमार्फत बीउ वितरण गरी सबै कृषकलाई व्यावसायिक रूपमा खेती गर्ने वातावरण बनाएको छ । उनले भने, ‘अघिल्लो वर्षभन्दा यो वर्ष बीउ लिने र सहयोग माग्ने कृषकको संख्या वृद्धि भएको छ, नगरपालिकालाई सबैभन्दा उत्कृष्ट बनाउन किसानको माग नै पहिलो आधार बनाएका छौँ ।’

कृषकले लगाएको बालीको रेखदेख र सल्लाह दिनका लागि खेतबारीमा प्राविधिक खटाउनुका साथै वडाध्यक्षलाई निगरानी गर्न आग्रहसमेत गरेको प्रमुख घर्तीले बताए । माटो र परिवेश सुहाउँदो खेती गर्न किसानलाई सहयोग गरी अगाडि बढाउन कृषि क्षेत्र विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । उक्त कार्यक्रमबाट नगरपालिकाका कृषकको जीवनस्तर माथि उठाउन महत्वपूर्ण कार्य हुने नगरपालिकाले जनाएको छ ।

कार्यक्रमले पूर्वाधार विकासका साथै तरकारी खेती, ओखर, कागतीलगायतका बिरुवा उत्पादनमा लगानी गर्नेछ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्नका लागि सडक निर्माण गर्ने योजनासमेत रहेको छ । त्यस्तै किसानलाई कृषिजन्य वस्तुको उत्पादन गर्नका लागि चाहिने मल, औजार, आवश्यक औषधि तथा उपकरणका साथै तालिमसमेत दिने प्रमुख घर्तीले बताए ।

माटो जाँचपछि उत्पादन राम्रो पाएर कृषिजन्य वस्तुको उत्पादनलाई थप प्रभावकारी बनाएका कृषक अहिले नगरपालिकामा नयाँनयाँ खालका योजना माग गर्न थालेका छन् । वडा नं ८ का कृषक लालबहादुर थापाले भने, ‘हामी माल भएर चाल नपाउने किसान रहेछौँ, अहिले हामी नगरपालिकासँगको सहकार्यलाई बढाएर लैजान्छौँ र आफैँ आत्मनिर्भर भई परिचय बदल्छौँ ।’ स्थानीय सरकार नहुँदा सदरमुकाम आएर कहिले पनि बीउ नपाई फर्केको समस्या सुनाउँदै अर्का किसान मानबहादुर घर्तीले बताए ।

नगरपालिकाले नेपालकै पहिलो पोषण एप्स बनाई प्रयोगमा ल्याएसँगै यहाँका कृषकले लाभसमेत उठाएका छन् । उक्त एप्समा कृषिदेखि पोषणसम्म र बालीनाली लगाउनेदेखि कसरी खानेसम्मका कुरा समेटिएका कारण कृषकलाई सजिलो भएको हो । कृषकलाई राहत पुग्ने खालका नयाँनयाँ योजना ल्याएर प्रयोग गर्ने थुपै योजना कार्यान्वयमा आउने प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताए । (रासस)

प्रकाशित समय १४:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु