fbpx
corona information

गृहपृष्ठ गरिमा धानमा बाला लाग्न सुरु

गरिमा धानमा बाला लाग्न सुरु

जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णसंकर धानमा बाला लाग्न थालेको छ । बाहिर आइनसके पनि भित्री भागमा बाला देखिन थालेको हो । बीउ खरिद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि किसानले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक वरिष्ठ वैज्ञानिक डा. रामवरण यादव नेतृत्वको प्राविधिक समूहले जिल्लामा स्थलगत अध्ययन गरी सोमबार प्रतिवेदनसमेत बुझाएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार धानमा बालाको भित्री चरण देखिएको छ । यसलाई वैज्ञानिकले ‘प्रिमोडिया’ भन्ने गर्छन् । क्रमशः बाला बाहिर आउने उनले बताए ।

बिक्री गर्नेले फरक जातको गरेको हुन सक्ने भन्दै सुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको ‘डिएनए फिंगरप्रिन्ट’ लिने काम भइरहेको छ । बीउविज्ञान तथा प्रविधि महाशाखा खुमलटारमा परीक्षण गर्ने काम भइरहेको वरिष्ठ वैज्ञानिक यादवले बताए । दुवै धानलाई उमारेर परीक्षण गर्ने गरिन्छ ।

धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बाली प्रभावित हुने ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ । जिल्लामा धानपछि तरकारी खेतीसँगै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ । ती सबै बाली प्रभावित हुने भएको छ । सरकारले प्रतिवेदन पाइसकेकाले डिएनए प्रतिवेदनआएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के कस्तो कारबाही हुने भन्ने विषयमा टुंगो लाग्ने ढकालको भनाइ छ । किसानले क्षतिपूर्तिको माग गरेका छन् ।

करिब १५ देखि २० दिनमा बाला देख्न सकिने उनले बताए । धान पाक्न अझै दुई महिना लाग्नेछ । वर्णसंकर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा धान पाक्न १६० दिन हाराहारी लाग्ने वरिष्ठ वैज्ञानिक यादवले बताए ।

धानको बीउ नेपालमा सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङले भित्र्याएको हो । गरिमालगायत देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करिब १ हजार ३ सय बिघाहामा यो धान लगाइएको अनुमान छ । यसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् । इच्छाकामना गाउँपालिकाबाहेक सबै स्थानमा यो धान लगाइएको छ ।

गरिमा जातको यो धान विसं २०७२ मा सूचीकृत भएको हो । गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुण अनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेलिसक्नुपर्छ । तर, त्यसो हुन नसकेपछि किसान अन्योलमा परेका छन् । जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातित वर्णसंकर र स्थानीय उन्नत जातका सावित्री, रामधान, साँवामन्सुली धान बढी क्षेत्रफलमा किसानले लगाउने गरेका छन् ।  (रासस)

प्रकाशित समय १४:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु