fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ विषादी प्रयोगले मौरी मर्दा किसान चिन्तित

विषादी प्रयोगले मौरी मर्दा किसान चिन्तित

मौरीका लागि उर्वर क्षेत्र मानिएको जुम्लाका किसान केही समययता भने चिन्तित बनेका छन् । एकाएक मौरी मर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् । महको बजार अभाव नभएको र मौरीका गोलाको समेत माग अत्यधिक रहेका बेला एकाएक मौरी मर्न थालेपछि समस्या भएको चन्दननाथ नगरपालिका-५ का कृष्ण बुढाले बताए ।

‘दिन प्रतिदिन मौरी मर्दै गएका छन् । कृषि प्राविधिकलाई सोध्दा बालीनाली तथा फलफूलमा विषादीको प्रयोगले मौरी मर्ने गरेको बताएका छन्,’ बुढाले भने ।

जुम्लालाई जिल्ला परिषद्बाट विषादी प्रयोगरहित घोषणा गरिएको थियो । त्यसको कार्यान्वयन नहुँदा विषादीको प्रयोग नघटेको उनको भनाइ छ । पराम्परागत रूपमा मौरीपालन गर्दै आएका उनले १० वटा आधुनिक घार पनि राखेका छन् । हरेक दिन घार बाहिर मरेका मौरी भेटिन थालेको उनको भनाइ छ । ‘दिनदिनै मरेका मौरी देखिन्छन् । घार रित्तिँदै गएको छ,’ बुढाले दुःखेसो पोखे ।

वातावरण विनाशसँगै मौरीको चरन क्षेत्र घट्दै गएको अर्का मौरी किसान सरोज शाहीले गुनासो गरे । झन् त्यसमा बालीनालीमा विषादी प्रयोग हुन थालेपछि समस्या भएको उनको भनाइ छ । ‘धान खेतमा अत्यधिक विषादी प्रयोग भइरहेको छ । जसले गर्दा मौरी पानी खान गएपछि मर्ने गरेको छ,’ उनले भने ।

सेरेना जातको मौरीका लागि जुम्लाको हावापानी उपयुक्त मानिन्छ । यहाँ भौगोलिक अवस्था र चरन क्षेत्र पर्याप्त रहेको छ । जसले गर्दा महको उत्पादन बढ्दै आएको थियो । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा २ हजार ५ सय किलोग्राम मह उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७३/७४ मा २ हजार ८ सय किलोग्राम उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा २ हजार १ सय किलोग्राम मह उत्पादन भएको तथ्यांक छ । अझै पनि जुम्लामा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाको भनाइ छ । जिल्लाको विभिन्न भागमा परम्परागत र आधुनिक घारमा किसानले मौरीपालन गर्दै आएका छन् । मौरी जोगाउन विषादीको प्रयोग रोक्नुपर्ने उनको भनाइ छ । (रासस)

प्रकाशित समय १५:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु