fbpx
Nepal Mediciti

गृहपृष्ठ छतमै लटरम्म तरकारी

छतमै लटरम्म तरकारी

म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौंला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागि समेत जमिन नभएपछि स्थानीयले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीले पाँचतला माथि डल्ले खुर्सानी फलाएका छन् ।

बजारमा डल्ले खुर्सानीको मूल्य अकासिएको अवस्थामा घरमा आउने आफन्त र छिमेकीलाई उनले डल्ले खुर्सानी कोसेली दिन्छन् । छतमा करिब ४१ बोट खुर्सानी हुर्काएका राम्जालीले हङकङ र युकेमा रहेका परिवारका सदस्यलाई पठाउन बट्टामा समेत प्याक गरेका छन् ।

करिब नौ फिटको छतमा फूलसँगै हावापानी अनुसार उत्पादन हुने फर्सी, लौका, लसुन, धनियाँ, भिन्डी, बोडी, गोलभेँडालगायत विभिन्न थरीका तरकारी अटाएका छन् । खुर्सानीसँगै विभिन्न प्रजातिका तरकारीका लहराले घर नै आर्कषक देखिएको छ ।

‘कौसीखेतीले व्यस्त बनाएको छ, तरकारी किन्नै पर्दैन,’ राम्जालीले भने । उनले सिजनअनुसार लगाएको तरकारी बेच्नसमेत पुग्छ । गमला तथा थौलोमा माटो र मल तथा नियमित पानीको प्रयोगले खेतबारीमा जस्तै राम्रो फल्ने उनी बताउँछन् ।

पछिल्लो समय बजारमा डल्ले खुर्सानी प्रति किलो ४ सय रूपैयाँसम्ममा बिक्न थालेपछि पहिलोपटक कोसेली घरमा समेत बिक्री गरेको राजु राम्जालीले बताए । उनका अनुसार ज्यानमारा, रागे र अकबरे खुर्सानीमध्ये डल्लेको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सरजस्ता रोगको औषधिसमेत हुने भएकाले खेती गरेको बताए । ‘कौसीखेती अर्गानिक पनि हो, आफ्नै घरमा फलेको तरकारी स्वादिलो पनि हुन्छ,’ उनले भने ।

श्रीमतीसँग दैनिक नियमित तरकारीको रेखदेख गरेपछि पाहुनालाई कोसेलीको रुपमा दिन पाउँदा उनी दंग छन् । अगामी वर्षदेखि होटलमा पनि तरकारी दिने उनको योजना छ ।

जिल्लाको मंगला गाउँपालिका–१ कुहुँ घर भएका राम्जाली दम्पतीले गाउँबाट कम्पस्ट मल ल्याएर प्रयोग गर्ने गरेका छन् । राम्जालीको सिको गर्दै इन्द्रेणी टोलका अधिकांश घरमा कौसी बगैँचा छन् । कौसी बगैँचालाई बेनी नगरपालिका–७ ले समेत अनुदान दिने गरेको छ । व्यक्तिगत रुपमै सामान्य लगानीमा सानो–ठूलो परिवारलाई पुग्ने तरकारी फलाउन सकिने भएकाले पनि कौसी खेतीलाई प्रोत्साहन गरिएको वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

‘कौसीखेतीले विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्छ, कौसीखेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ,’ उनले भने । ‘कौसीखेतीका लागि चालु आर्थिक वर्षमा डेढ लाख रूपैयाँ बजेट विनियोजन भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यो बजेटमा गमला वितरण, निःशुल्क तालिम र प्राविधिक सहयोग दिने योजना रहेको छ ।’ कौसीखेतीमार्फत घरको फोहोर घरमै व्यवस्थापन गर्न सकिने र तराईबाट आउने विषादीयुक्त तरकारी प्रयोग गर्न नपर्ने भएकाले पनि सम्भव भएसम्म घरको छत, कौसी र बरन्डालाई करेसाबारीको रूपमा उपयोग गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

बेनीमा कौसी खेती गरिए पनि प्रविधिको ज्ञान नहुँदा समस्या भइरहेको बजारवासीको भनाइ छ । बेनीमा बर्सेनि कराडौँको तरकारी आयात हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार प्लास्टिकको गमलामा समेत खेती गर्न सकिन्छ । करिब पाँच हजार रूपैयाँको लगानीले पाँच वर्षसम्म नियमित तरकारी खेती गर्न सकिन्छ । गमलासहित केही आवश्यक सामानको खरिद गरी घरमै नर्सरीको स्थापना गरेमा लामो समयसम्म प्रयोग गर्न सकिने कृषिका जानकार बताउँछन् ।

हरेक किसिमका तरकारीको पसलैपिच्छे फरक–फरक मूल्यले हैरान बजारवासीको कौसीखेतीमा आकर्षण बढेको छ । अहिले बेनी बजारका अधिकांश घरको छतमा गरिएको तरकारी खेतीले बजारमा आयातित तरकारीको मागसमेत कम भएको स्थानीय तरकारी व्यवसायीले बताएका छन् । (रासस)

प्रकाशित समय १४:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु