fbpx

गृहपृष्ठ इलामको अलैंचीले ढाक्यो पाल्पा

इलामको अलैंचीले ढाक्यो पाल्पा

alaichi-tipdai-palpa-newskarobar

नगदेबाली अलैँचीको पाल्पामा व्यावसायिक खेती सुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको निस्दी गाउँपालिका ३ झिरुवासको खाँदरलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिक खेती गर्न थालिएको हो ।

जिल्लाकै यो पहिलो व्यावसायिक अलैँचीखेती हो । खाँदर क्षेत्रका ४४ रोपनी क्षेत्रफलमा अलैँची लगाउन थालिएको छ । गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरी यो वर्ष १५ हजार अलैँचीका बिरुवा कृषकलाई निःशुल्क उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कृषि शाखाको एक लाख र गाउँपालिकाको ३५ हजार रूपैयाँ पकेट क्षेत्रमा विनियोजन गरी बिरुवा रोपिएको कृषि शाखा प्रमुख नवराज घिमिरेले जानकारी दिए । ‘उपयुक्त भौगोलिक भू–बनोट, हावापानी रहेकाले खाँदर क्षेत्रलाई अलैँची पकेट क्षेत्रका रुपमा घोषणा गरेपछि व्यावसायिक उत्पादनतर्फ कृषक आकर्षित बनेका छन्,’ उनले भने, ‘खाँदरका ६५ घरधुरीका कृषकले अलैँचीखेती गरेका छन् ।’

खाँदरका तुलबहादुर बयम्वूले तीन वर्षदेखि व्यावसायिक अलैंचीखेती गर्दै आएका छन् । गत वर्ष अलैँची बिक्रीबाट उनले एक लाख ५० हजार आम्दानी गरे । तीन वर्षअघि इलाम भ्रमणमा गएका बयम्वूले एउटा अलैँचीको बिरुवा ल्याएर पाखोबारीबाट खेती सुरु गरेका हुन् ।

बयम्वूले ९ रोपनी खेर गएको पाखो भरी अलैंची लगाएका छन् । लगानी कम लाग्ने भएपछि अलैँचीको व्यावसायिक खेती बढाउँदै जाने उनी बताउँछन् । यो क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यसअघि कसैलाई पनि जानकारी थिएन । बयम्वूले लगाएको अलैंचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रूपमा विस्तार गरेको हो । गाउँपालिकाले २०० रोपनीमा अलैँची विस्तार गर्ने योजना बनाएको छ ।

अलैंचीका लागि कस्तो ठाउँ उपयुक्त ?

अलैँचीखेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि दुई हजार २०० मिटरसम्मको उचाइ, आठदेखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलिमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ ।

नेपालमा पूर्वीपहाडबाट सुरु भएको अलैँचीखेती ३६ जिल्लामा फैलिएको छ । अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानका लागि यो वरदान सावित भएको छ ।

अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिन्छ । मध्यपहाडी, धेरै गर्मी नहुने र कागती, सुन्तला उत्पादन हुने क्षेत्रमा अलैँचीको व्यावसायिक खेती राम्रो हुन्छ । अलैंचीको बजार अन्तर्राष्ट्रिय भएकाले दुई वर्षयता राम्रो मूल्य पाउन नसकिरहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् । ‘माथिल्लो उच्च क्षेत्रमा खेर गएको जमिनमा अलैँची लगाएर कृषकले राम्रै आम्दानी गर्न सक्छन्, यसको प्रवर्धनका लागि सम्बन्धित स्थानीय तहले कदम चाल्न आवश्यक छ,’ उनले भने ।

अलैंची भारत हुँदै अरब मुलुकमा निर्यात हुने भएकाले मूल्यमा उतारचढाव आइरहेको हुन्छ । राम्रो मूल्य रहेका बेला प्रतिकिलो दुई हजारदेखि दुई हजार ५०० सम्ममा अलैँची बिक्री हुन्छ । अहिले भने एक हजारको हाराहारीमा बिक्री भइरहेको छ ।

बिरुवा लगाएको एकदेखि डेढ वर्षपछि अलैंचीबाट उत्पादन लिन सकिन्छ । दुई दशकअघि पाल्पाको साविक कसेनी गाविस वलेसका कृषकले अलैंचीखेतीबाट राम्रो आम्दानी गरेका थिए । त्यस समयमा गाउँका धेरै कृषकको आम्दानीको स्रोत नै अलैँची थियो । प्रत्येक एक घरपरिवारले तीनदेखि पाँच क्विन्टलसम्म अलैँची उत्पादन गर्ने गर्थे ।

एकाएक बोटमा विभिन्न रोग लाग्न थालेपछि अलैंची जिल्लामै पूर्णरूपमा लोप भइसकेको थियो । सम्बन्धित निकायबाट बेवास्ता भएका कारण अलैँचीले भरिएका जग्गा वनमाराले भरिन पुगेका थिए । ठिमुरे, कुसुमखोला, रुप्सेलगायतका १० भन्दा बढी साविक गाविसको उत्तर फर्किएको, ओसिलो जमिनमा खेती गर्न सकिने भए पनि त्यसतर्फ ध्यान जान नसक्दा अलैंची लोप हुनपुगेको हो । इलाम र तेह्रथुममा प्रसिद्धी कमाएको अलैँचीखेतीबाट पाल्पाका कृषाकले मनग्य कमाउन सक्ने कृषि प्राविधिक बताउँछन् ।

अलैँचीको प्रयोग

अलैँची मसला बाली भएकाले प्राचीन समयदेखि नै यसलाई महत्वपूर्ण र महँगो मसलाको रूपमा प्रयोग गरिँदै आएको छ । यसको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाइ, केक, पेस्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बियाँ पानसँग पान मसालाको रुपमा खाइन्छ ।

आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ । अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपेली देशमा उच्चकोटीको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैँचीको प्रयोग गरिन्छ ।

सौन्दर्य प्रशोधन निर्माण गर्न शरीरमा उष्णता थप्न र यौनशक्ति बढाउन पाचन शक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिको रुपमा पनि अलैँचीको प्रयोग गरिन्छ ।

चिसो रुघाखोकी, बान्ता फियो बढेको थकाइ लागेको लुतो हैजा वा अरु कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक, अदाहा र नसासम्बन्धी रोग, मूत्ररोग आदि रोगको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ । (रासस)

प्रकाशित समय १४:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु