fbpx
Nepal Mediciti

गृहपृष्ठ सयपत्री खेतीले महिलालाई स्थानीयस्तरमै रोजगारी

सयपत्री खेतीले महिलालाई स्थानीयस्तरमै रोजगारी

स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापाका महिला यतिबेला व्यावसायिक फूल खेतीमा लागेका छन् ।

दीपावलीलाई लक्षित गरेर महिला समूह यतिबेला सयपत्री फूलको बेर्ना सार्ने कार्यमा व्यस्त देखिन्छन् । दीपावलीको समयमा सयपत्री फूलको माग धेरै हुने भएकाले भारतीय बजारबाट आयात हुने फूलको मालालाई न्यूनीकरण गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले महिलाको सक्रियता बढेको महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराईले बताइन् । यतिबेला सारेको बेर्नाबाट दीपावलीको समयमा फूल टिप्न सकिने गरी तयारी हुने भएकाले पनि बेर्ना सार्ने काममा सक्रियता बढेको भट्टराईको भनाइ छ ।

तीन वर्षदेखि लगातार सयपत्री फूलको उत्पादन गरिरहेका महिला उद्यमी संघ झापाका महिलाले यस वर्ष बिर्तामोडमा एक बिघा पाँच कट्ठा जमिन ठेक्कामा लिएर बेर्ना सार्ने काम गरिरहेका छन् । पहिलो वर्ष दुई कट्ठामा गरिएको फूल खेतीबाट हौसला मिलेकोले दोस्रो वर्षदेखि क्षेत्रफल बढाएर काम गर्न थालेको अध्यक्ष भट्टराईले जानकारी दिइन् । पाँच कट्ठा जमिनमा राखिएको करिब ९० हजार फूलका बिरुवा मोरङको उर्लाबारी, झापाको दमक, सुरुंगा, बिर्तामोड, धुलाबारी, शनिश्चरे, चन्द्रगढीलगायतका स्थानमा लगेर त्यहाँका विभिन्न समूहमार्फत रोपिएको बताइएको छ ।

राम्रोसँगले फुल्दा एउटा बोटबाट दसवटासम्म माला बन्न सक्ने गरी फूल उत्पादन हुने संघका जिल्ला महासचिव नैनकला भट्टराईले बताइन् । फूलको मौसममा व्यापारीले एउटा माला बराबर न्यूनतम ५० रूपैयाँका दरले बारीमै आएर फूल उठाउने भएकाले बजारको कुनै समस्या नहुने महासचिव भट्टराईले जानकारी दिइन् । आफ्नै लगानीमा गरिएको सयपत्री फूलको खेतीमा लागेका महिलाहरु सबै सामाजिक अभियन्ताका साथै व्यवसायी पनि भएकाले आर्थिक लाभको उद्देश्य नराखी, काम गर्दा उपलब्धि हुने रहेछ भन्ने समाजमा सकारात्मक सन्देश दिन खोजिएको महासचिव भट्टराईले बताइन् । दीपावलीमा मात्र नभएर जुनसुकै समयमा पनि हुने विभिन्न गोष्ठी, सेमिनारलगायत कार्यक्रममा फूलको मालाको आवश्यक पर्ने भएकाले पछिल्लो समय सयपत्री फूलको महत्व अझै बढेर गएको पाइएको छ ।

झापाको कनकाई नगरमा नेपाल महिला चेम्बर कनकाई नगर समितिको अगुवाइमा १२ कट्ठा जमिनमा सयपत्री फूलको बेर्ना सार्ने काम पूरा भएको बताइएको छ । स्थानीयस्तरको अर्गानिक फूलको उत्पादनलाई प्राथमिकतामा राख्न सचेतना जगाउँदै पहिलोपटक फूल खेतीको अभ्यास गरेको नेपाल महिला चेम्बर कनकाई नगर अध्यक्ष खिनमाया खतिवडाले बताइन् । फूलको सुन्दरताले गर्दा वातावरणसमेत स्वच्छ बन्ने भएकाले हरित नगरी निर्माणको अभियानमा समेत सहयोग पुग्ने विश्वास गरिएको महिला चेम्बर कनकाई नगर अध्यक्ष खतिवडाले जानकारी दिइन् । संस्थालाई आर्थिक रुपले पनि सम्पन्न बनाउनका लागि अभियान सञ्चालन गरेको बताइएको छ । (रासस)

प्रकाशित समय १५:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु