fbpx

गृहपृष्ठ काठमाडौंमा ९०, झापामा ४५, तेह्रथुममा बिक्दैन दूध

काठमाडौंमा ९०, झापामा ४५, तेह्रथुममा बिक्दैन दूध

दूध नबिकेपछि कुराउनी र घिउ

milk-water-newskarobar

काठमाडौंका उपभोक्ता ९० रुपैयाँ लिटरले दूध किनेर खान्छन् । काठमाडौंमा सञ्चालन गरिएका अधिकांश गाईगोठले त पानी नमिसाएको दूध बेच्दैनन् । सुगम जिल्ला झापामा शुद्ध दूध कृषकले ४५ रुपैयाँ लिटरमा बेच्नुपर्छ । नत्र कसैले किन्दैन । तेह्रथुममा दूध नै बिक्दैन । कृषक घिउ, कुराउनी बनाएर बेच्छन् ।

झापामा ४५ रुपैयाँ प्रतिलिटरले कृषकले बेच्ने दूध काठमाडौं आइपुग्दा कसरी ९० रुपैयाँ लिटर पुग्छ ? कृषक प्रश्न गर्छन् । तर उनीहरुले प्रश्न गर्ने दिनभरमात्र हो । बिहान-बेलुका ४५ रुपैयाँमै दूध पु-याउन डेरी पुग्नुपर्छ । ‘झापाबाट काठमाडौं लैजान बाटो पनि राम्रो छ तर ४५ रुपैयाँभन्दा दिँदैनन्, काठमाडौंमा दूधको ९० रुपैयाँ प्रतिलिटर पर्छ रे !’ कनकाई नगरपालिका १ सुरुंगाका बमबहादुर तिम्सिना भन्छन्, ‘दुःख गर्ने कृषकले भन्दा बढी नाफा खान्छन्, के गर्ने, कसलाई भन्ने ?’

दूध नबिकेपछि कुराउनी र घिउ
तेह्रथुमलगायत पहाडी जिल्लाको कथा अलि फरक छ । दूध बिकेन भनेर उनीहरु निराश भएर बस्दैनन् । बरु घिउ, कुराउनी बनाउनतिर लाग्छन् । इन्धन अभावमा ढुवानी समस्या देखाउँदै डेरीले संकलन गर्न छाडेपछि कृषकले घर गाउँमै दूध खपतको विकल्प खोजी गरेका हुन् । तेह्रथुमको म्याङलुङ नगरपालिका ६ सुर्केमा रहेको नवजीवन दुग्ध सहकारी संस्थाले दूध बिक्न छाडेपछि कुराउनी र घिउ बेचेर मनग्य आम्दानी गरिरहेको छ ।

उत्पादित दूधले बजार नपाएपछि वैकल्पिक उत्पादनको रुपमा कृषकले घिउ र कुराउनी रोजेका हुन् । सहकारी संस्थालाई म्याङलुङ नगरपालिकाले अनुदानमा कुराउनी बनाउने मेसिन उपलब्ध गराएपछि झन् सहज भएको कृषक ढुण्डीप्रसाद भट्टराईले बताए । उनी भन्छन्, ‘केही समय अघिसम्म दूध नबिकेर चिन्तित थियौँ,’ उनी भन्छन्, ‘मेसिन पाएपछि कुराउनी उत्पादनमा लाग्यौं, खपत एकदमै राम्रो छ, आम्दानी पनि राम्रै गरिरहेका छौँ ।’

कुराउनीको माग बढेपछि दूध बिक्री नभएर चिन्तित भएका कृषकले उन्नत जातका गाई थप्न थालेका छन् । म्याङलुङ नगरपालिकाले समेत यो क्षेत्रलाई गाईपालनको पकेट क्षेत्रको रुपमा छनोट गरेको छ । मध्य पहाडी लोकमार्गले समेत छोएको सुर्के बजारमा रहेको नवजीवन दुग्ध सहकारी संस्थाले दैनिक १५ देखि २० किलोसम्म कुराउनी उत्पादन गर्ने गरेको प्रबन्धक विजेश भट्टराईले जानकारी दिए । ‘गाउँको दूध गाउँमै खपत भएको छ,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गमै परेपछि दैनिक उत्पादन हुने २० किलोसम्म कुराउनी बजार पु-याउन सफल भएका छौँ ।’

कोसेलीका लागि प्रख्यात कुराउनी किन्ने ग्राहक सहकारी संस्थासम्मै पुग्ने गर्छन् । यहाँ उत्पादित कुराउनी तेह्रथुमका विभिन्न स्थानका साथै धनकुटा, धरान, इटहरी, विराटनगर, काठमाडौं र भारतीय बजारसम्म पुग्ने गरेको शिक्षक मित्र नेपालीले बताए । ‘तेह्रथुम घुम्न टाढा टाढाबाट पर्यटक तथा पाहुना आउँछन्,’ उनले भने, ‘कोसेलीका रुपमा धेरैले यहाँको कुराउनी किनेर लाने गर्छन् ।’

प्रकाशित समय १०:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु