गृहपृष्ठ नौवटा स्थानीय तहमा नमुना कृषि गाउँ बनाइने
नौवटा स्थानीय तहमा नमुना कृषि गाउँ बनाइने

जिल्लाका नौवटा स्थानीय तहमा नमुना कृषि गाउँ बनाइने भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि लागू भएको प्रदेशस्तरीय कार्यक्रममा पहिलो चौमासिक प्रस्तावअनुसार जिल्लाका नौवटै स्थानीय तहलाई नमुना गाउँ बनाइने कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सिलगढीका प्रमुख किसानसिंह थापाले बताए ।
कृषि नमुना गाउँका लागि नमुना कृषि फार्म, तरकारी तथा फलफूलको ग्रिन हाउस र नर्सरी निर्माण, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा विभिन्न स्रोत केन्द्र स्थापना तथा विकास गर्ने, बेमौसमी खेतीलगायत कृषि पर्यटनलाई जोड दिने योजना रहेको उनले जानकारी दिए ।
पकेट क्षेत्रभित्र मागमा आधारित कृषक तथा कृषि उद्यमीलाई अनुदान सहयोग, तरकारी बीउ उत्पादन, प्रांगारिक मलमा अनुदान, खाद्यान्न तथा बीउ आलु उत्पादन पकेट क्षेत्र विस्तार, अदुवा विकास, प्रशोधन तथा उद्योग स्थापना, प्रविधि प्रसार र सिँचाइ, यान्त्रीकरण तथा क्लस्टरमा भकारो सुधार, क्षमता विकास तथा तालिम सञ्चालन, जौ, कोदो, बेथेलगायत जैविक विविधताको संरक्षण र प्रवर्द्धन गरी सम्भावित क्षेत्र समुदायका किसान र कृषि फार्मलाई व्यावसायिक बनाउने लक्ष्य रहेको बताइएको छ । (रासस)
प्रकाशित समय १३:५४ बजे