fbpx

गृहपृष्ठ व्यावसायिक बाख्रापालक कृषकलाई महानगरपालिकाको अनुदान

व्यावसायिक बाख्रापालक कृषकलाई महानगरपालिकाको अनुदान

व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ । पोखरा–२८ का ५० जना कृषकलाई जनही ४० हजार रूपैयाँका दरले २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ ।

वडा नं. २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उक्त अनुदान रकम वितरण गरेका हुन् ।

उक्त अवसरमा प्रमुख जिसीले महानगरका ३३ मध्ये २१ वडा व्यावसायिक कृषिका लागि उपयुक्त भएको बताउँदै खाद्यान्न तथा पशु उत्पादन वृद्धि गरी आयात रोक्ने नीतिमा महानगर रहेको स्पष्ट पारे । उनले भूउपयोग नीतिका माध्यमबाट कृषियोग्य जमिन खण्डीकरण हुन नदिइनेसमेत बताए ।

वडाध्यक्ष निर्मल दियालीले कम्तीमा पाँचवटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकलाई व्यावसायीकतातर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताए ।

वडाका माझठाना, सौर्यलगायत गाउँमा व्यावसायिक बाख्रापालन सुरु भइसकेको बताउँदै उनले अनुदान सहयोगले स्थानीय प्रजातिका बाख्राको पालन र प्रवर्द्धनसमेत फलदायी हुने विश्वास व्यक्त गरे ।

पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक सुरुवात भएको र पशु सेवासँग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरुलाई पनि आगामी दिनमा निरन्तरता दिइने बताए । (रासस)

प्रकाशित समय १२:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु