fbpx

गृहपृष्ठ कञ्चनपुरमा युरियाको चर्को अभाव

कञ्चनपुरमा युरियाको चर्को अभाव

कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैध रूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ ।

व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरिद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन् । ‘भारतबाट खरिद गरेर मल ल्याउँदा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ल्याउन दिँदैनन्,’ स्थानीय किसान बाधुराम चौधरीले भने, ‘बजारमा युरिया मल छैन । पाइएको मल खरिद गरिनसक्नु मूल्यको छ ।’

‘धान रोपेको २० दिनभित्र युरिया छरिसक्नुपर्छ,’ अर्का किसान बैदार चौधरीले भने, ‘धान रोपेको महिना दिन बित्नै लागेको छ । अहिलेसम्म मल पाइएको छैन ।’ भारतबाट भित्र्याइएको युरिया ४५ किलोको बोराको किसानले २ हजार ३० रूपैयाँ तिर्नुपरेको छ । मल बिक्रेताले मनोमानी रुपमा मूल्य कायम गरी मल अभाव भएको फाइदा उठाउँदै चर्को मूल्यमा युरिया मल बिक्री गर्दै आएको किसानको गुनासो छ ।

अनुदानको रासानिक मलको बिक्री दररेट प्रतिक्विन्टल १ हजार ६ सय ६२ रूपैयाँ छ । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीको शाखा भीमदत्तनगरले मागअनुरूपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो ।

कृषि सामग्री कम्पनीले यस वर्ष ८१ टन मात्रै रासानिक मल आपूर्ति गरेको थियो । सो मल असार महिनामै सकिएको छ । कम्पनीको २ हजार ५ सय टन युरिया खरिद गर्ने लक्ष्य भए पनि थोरै मात्रै आपूर्ति हुँदा अभाव भएको कम्पनीका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए ।

युरिया समयमै खरिद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुन नकेको उनको भनाइ छ । ‘तत्काल युरिया आउने सम्भावना छैन,’ उनले भने, ‘भर्खरै भारतको कोलकाता बन्दरगाहमा पुगेको भन्ने खबर छ । त्यहाँबाट यहाँसम्म आइपुग्न अझै एक महिना लाग्छ ।’ (रासस)

प्रकाशित समय ११:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु