fbpx

गृहपृष्ठ बर्दिबासमा महत्वाकांक्षी मेयर कृषि कार्यक्रमको काम प्रारम्भ

बर्दिबासमा महत्वाकांक्षी मेयर कृषि कार्यक्रमको काम प्रारम्भ

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले मेयर कृषि कार्यक्रमको महत्वाकांक्षी योजना अघि सारेको छ । बर्दिबास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा मेयर कृषि कार्यक्रमको योजनामा काम थालिएको नगर कार्यपालिका कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७५/०७६ को नगरसभाबाट नै पारित यो योजनाभित्र हरितगृह, अन्नबाली तथा तरकारी खेती, फसल बिक्री तथा प्रदर्शन, बागबानी, चिस्यान केन्द्र (शीतभण्डार), माछापालन पोखरी र तरकारी होलसेल केन्द्रसहितका लागि जग्गा छुट्याइएको छ । जम्मा ७५ बिघा जग्गामा सञ्चालन गरिने मेयर कृषि कार्यक्रमअन्तर्गत अन्नबाली तथा तरकारी खेतीका लागि २८ बिघा, हरितगृहका लागि १७ बिघा, पोखरी र फसल होलसेल बिक्री केन्द्रका लागि १० बिघा, बागबानीका लागि सात बिघा र शीतभण्डार निर्माणका लागि दुई बिघा छुट्याइएको नगरप्रमुख बिदुरकुमार कार्कीले जानकारी दिए ।

यसबाहेक मनोरञ्जनात्मक पार्कका लागि तीन बिघा र प्रशिक्षण एवं तालिम केन्द्र र प्रशासनिक भवनका लागि दुई-दुई बिघा छुट्याइएको छ । गत आवमै छानिएको यो योजनाअन्तर्गत शीतभण्डार निर्माणको काम ४ करोड रूपैयाँको लागतमा बोलपत्र प्रक्रियाबाट सम्पन्न गरिने गरी प्रक्रिया बढाइसकिएको नगरप्रमुख कार्कीले बताए ।

‘मेयर कृषि कार्यक्रममा यसपालि ९ करोड रूपैयाँ विनियोजित छ,’ नगरप्रमुख कार्कीले भने, ‘यो दीर्घकालीन महत्वको भएकाले सम्पन्न हुन केही वर्ष लाग्न सक्छ ।’ बाहिर सुनिने टिप्पणीजस्तै यो महत्वाकांक्षी नै योजना भएको नगरप्रमुख कार्कीको भनाइ छ । यद्यपि सुदृढ इच्छाशक्तिबाट बनेको योजना हुँदा आफ्नो कार्यकालभित्रै धेरै काम सम्पन्न भइसक्ने कार्कीले दाबी गरे । मेयर कृषि कार्यक्रमको मुख्य उद्देश्यभित्र किसानलाई प्रांगारिक खेतीमा उत्साहित गराउनु रहेको कार्की बताउँछन् ।

अहिले मेयर कृषि कार्यक्रम विस्तृत कार्य योजना प्रस्ताव निर्माणको चरणमा रहेको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । यो योजना सम्पन्न हुँदासम्म फलफूल, तरकारी, माछा र अन्नबालीमा बर्दिबास नगरपालिका पूर्ण रूपले आत्मनिर्भर हुने बताइएको छ ।

बर्दिबास नगरपालिकाले सुरु गरेको यो योजनाबारे जिल्लाका अन्य स्थानीयतहले पनि चासो बढाएका छन् । (रासस)

प्रकाशित समय ११:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु