fbpx

गृहपृष्ठ बँदेलले मकै सखाप, कृषक भन्छन्- कृषिमन्त्रीबाट उब्जनी भराइपाऊँ

बँदेलले मकै सखाप, कृषक भन्छन्- कृषिमन्त्रीबाट उब्जनी भराइपाऊँ

बँदेलबाट जोगाउन सके पो खेती गर्नु

makai-bandel-sitganga-newskarobar

अर्घाखाँचीको सितगंगा १० का कृषकले बारीका लगाएको मकै बँदेलले नोक्सानी पार्न थालेको छ । मकैले धान चमर गर्न थालेपछि बँदेल बारीमा पस्न थालेको छ । हर्रेमा मात्र सयौं रोपनीभन्दा बढी बारीको मकै बँदेलले नोक्सान गरेको वडा अध्यक्ष हिम्मत पोख्रेल बताउँछन् ।

‘कृषिमन्त्रीको जग्गा बाँझो नराख्न प्रेरित गरेको उद्घोष सार्थक बनाउन किसानलाई मकै छर्न प्रेरित गरें,’ उनले भने, ‘अब कृषिमन्त्रीबाट उब्जनी भराइदे भन्न थाले, मैले के जवाफ दिऊँ ?’ अब कृषकलाई वैकल्पिक खेतीतर्फ लैजाने उनको सोचाइ छ ।

‘अब मकै छर्नु बेकार छ,’ स्थानीय माधव पौडेल भन्छन्, ‘बँदेलबाट जोगाउन सके पो खेती गर्नु ।’ दिउँसो पनि खेती जोगाउन सजिलो छैन । सुरूमा छरेको मकैको बीउ चराचुरूंगीबाट जोगाउन दिनभर नबसी हुँदैन । मकै उम्रेपछि घरपालुवा जनावरबाट जोगाउन पाले बस्नुपर्छ । चारपाते भएपछि बाँदरबारबाट पनि जोगाउनुपर्ने हुन्छ ।

स्थानीय धनप्रसाद पोख्रेल भन्छन्, ‘अब सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।’ उनी गाउँलेलाई कृषिमन्त्रीकहाँ डेलिगेसन जानुपर्ने बताउँछन् । ‘पहिले यहाँको अन्नले धेरै गाउँ पालिन्थे, दानसिङ जुवाकोटसम्मका मानिस लस्कर लाग्दै अन्न किन्न आउँथे,’ धनप्रसाद सम्झन्छन्, ‘अब यहीँका मानिस अन्न किन्न हिँड्नुपर्ने भयो ।’

बँदेलले लेखबहादुर बलालको पाँच रोपनी, सन्तोष पेख्रेलको आठ रोपनी, जगबहादुर नेपालीको १२ रोपनी, दामी दर्जीको पाँच रोपनी, टीकाराम आचार्यको १५ रोपनी र हिमालय बेल्बासेको ६ रोपनी बारीको मकै सखाप पारेको छ ।

‘असार लागेपछि गाउँका छेउछाउका बारीमा पस्न सुरू गरेको बँदेलले साउन पहिलो सातासम्म हर्रेको ७५ प्रतिशत मकै नोक्सान गरिसकेको छ,’ स्थानीय शिक्षक मणिराम पोख्रेलले भने, ‘अब मकै जोगाएर खान नसकिने भयो ।’

हर्रे मात्र होइन, चिन्ने, दमार, बाटुले, काठेखोला, सामकोटमा पनि बँदेलले मकै सखाप पारिसकेको स्थानीय बताउँछन् । चिन्नेका गुणाखर भुसाल भन्छन्, ‘अब खेती जोगाएर खाने अवस्था सकियो ।’ धान, मकै, कोदो, तोरी, आलु, पिँडालु, सखरखन्ड, तरूलजस्ता सबै खेती जंगली जनावरबाट जोगाउन नसकिने भुसाल बताउँछन् ।

यसै वडाका वडा सदस्य ऋषिराम भुसाल पनि बँदेलबाट पीडित भएको बताउँछन् । ‘बँदेलले छापडाँडा, लिसिकुना र बोखरको गरी ५ सय रोपनीभन्दा बढीको मकै सखाप पारेको छ,’ भुसाल भन्छन्, ‘हामीलाई यहाँ टिकाउने हो भने बँदेलबाट खेती जोगाउने बार बनाउन सरकारले सहयोग गर्नुपर्छ ।’

makai-bandel-sitganga-newskarobar

बँदेलले वडा नं. ९ सिद्धारा, लौरी, सिलिङखोला सबैतिरका मकै सखाप पारेको प्रभात बेल्बासेले बताए । ‘दिउँसो आउने चरा र जंगली जनावरबाट खेती जोगाउन सकिए पनि राति आउने बँदेल र दुम्सीबाट बाली जोगाउन सकिन्न,’ बेल्बासे थप्छन्, ‘सरोकारवालाले जंगली जनावरबाट खेती जोगाउने उपक्रममा सहयोग नगर्ने हो भने अब यस क्षेत्रमा बस्न सकिन्न ।’

वडा ११ का बासिन्दाले भने पहिलेदेखि बँदेलबाट सजग भई बारीमा बारबन्देज गरेकाले मकैमा नोक्सानी भएको छैन । ‘हामी पहिल्यैदेखि बँदेल पीडित भएकाले बारीमा बार लगाएका छौं,’ दुम्सी आधारभूत विद्यालय एक्लेसल्लाका शिक्षक रूमबहादुर पल्लीले भने, ‘हाम्रोमा बँदेल छिर्न सक्दैन ।’

सितगंगाका अधिकांश मानिस बसाइँ सरेर सुगममा बस्न थालेका छन् । त्यहाँका स्थानीयलाई त्यहाँ टिकाउन खेती जोगिने उपाय निस्कनु आवश्यक छ । वडा नं ११ मा बार बन्देज एकैचोटि गरिएको होइन । बर्सेनि अलिअलि गर्दै तयार भएको हो । वडा नं १० का छरिएका किसानले एकैचोटि बार लगाउन सम्भव छैन । यसमा श्रम र सामग्री धेरै खर्च गर्नुपर्ने हुन्छ । किसानलाई त्यहाँ टिकाउने हो भने खेती जोगाउन सरकारले हातेमालो गरिदिनुपर्छ ।

बाटाका नाममा जथाभावी बाटो बनाएर माटो बगाउन खर्चिने रकम बँदेल, दुम्सीजस्ता जंगली जनावर आउने बाटो छेक्ने बार बनाउन खर्चने हो भने खेती जोगाउन सकिएला । शितगंगा क्षेत्रफलका हिसाबले नेपालकै ठूलो नगरपालिका हो ।

प्रकाशित समय १४:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु