fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ ओरिया खोलाको बाढीले किसानलाई पीडा

ओरिया खोलाको बाढीले किसानलाई पीडा

लहलहाउँदो धानको बेर्ना देख्दा जानकी टोलका किसान रामसेवकको खुसीको सीमा थिएन । यसपालिको धान राम्रो उब्जेला भनेर उनी मनमनै दंग हुन्थे तर त्यो खुसी धेरै दिनसम्म टिक्न सकेन । कारण थियो- ओरिया खोलामा आएको बाढी ।

हालै आएको बाढीले रामसेवकको १० कट्ठामा लगाएको लहलहाउँदो बेर्ना बगायो । ४५ वर्ष पुरानो सो नहरमा प्रत्येक वर्ष वर्षायाममा ओरिया खोलाको बाढी पसेर क्षति पुर्‍याउँदा उनको मात्र होइन त्यस क्षेत्रका हजारौँ बिघा खेतीमा असर परेको छ ।

प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराई उत्पादकत्व वृद्धि तथा कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले विसं २०३० जेठ २१ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेको उक्त नहरमा विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण ओरिया खोलाको बाढी पसी पानीको बहाव थेग्न नसकेर विभिन्न ठाउँमा गण्डक नहर भत्किनाले समस्या आएको बहुअरीस्थित नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ ।

भारत विहार राज्यको वाल्मीकिनगरमा निर्माण गरी पूर्वी मूलनहर (तिरहुत मूलनहर) को दोनशाखा नहरबाट पश्चिमी चम्पारणको इनर्वा गाउँ हुँदै पश्चिमी पर्साको जानकीटोलमा प्रवेश गर्ने उक्त नहरबाट हाल बारा जिल्लाको ११ नं ब्लकमा ६० किलोमिटरमा पानी बहने गरेको छ ।

नहरको कुल लम्बाइ ८१ किलोमिटर रहेको सो मूलनहर रौतहट जिल्ला हुँदै वागमती नदीमा मिसिने गरे पनि हाल जानकीटोलदेखि बाराको ११ नम्बर ब्लकसम्म मात्र पानी पुग्ने गरेको उक्त कार्यालयले जनाएको छ ।

विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको यो नहर सन् १९७५ र १९७६ गरी दुई चरणमा नेपाल सरकारलाई हस्तानान्तरण गरिएको थियो । पर्साको जानकी टोल, मसिहानी, महुवन र डकैला बहुअरी हुँदै रौतहट जिल्लासम्म उक्त नहरको पानी बग्ने गर्छ । नेपाल–भारत सीमा नजिकै रहेको ओरिया खोलाको बाढी प्रत्येक वर्ष जानकी टोलाको प्रवेश बिन्दुमा पस्ने गरेको भए पनि यसले रोपाइँको समयमा नहर भत्काउँदा समस्या हुँदै आएको हो ।

बाढीले बगाएको नहर मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । कार्यालयका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले भने,  ‘ओरिया खोलामा करिब ५ सय मिटरजति तटबन्ध निर्माण गर्नसके यसले बर्सेनि आइपर्ने समस्याबाट मुक्ति मिल्ने थियो । उक्त खोलामा आएको बाढीको पानी १ हजार २ सय क्युसेक पुग्दासम्म गण्डक नहरले सो बाढीको बहाव थेग्दै आएको थियो तर नहरमा सोभन्दा बढी पानी पसेपछि नहरको ठाउँठाउँमा भत्किएको छ। ८१ किलोमिटर लम्बाइको उक्त नहरमा मूलशाखा नहर १७ र सहायक शाखा नहर ५० वटामा गरी ३ हजार ५ सय ७४ पुलपुलेसा छन् ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले सो नहरमा ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्नेमा विगतका वर्षमा ५ सयदेखि ६ सय क्युसेक पानी मात्र उपलब्ध गराउँदै आएकामा हाल धानबालीका लागि भने ८२९ क्युसेक पानी प्राप्त हुँदै आएको उक्त कार्यालयले जनाएको छ ।

भारतले यो वर्ष असार १० गते पानी छोडे पनि १ सय किमि भारतीय क्षेत्रको भू–भाग पार गरेर असार १४ गते नेपाली भूमिमा आइपुगेको थियो तर असार १६ गतेयता भने पानी आउन बन्द भएको छ । पर्सा जिल्लामा ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकामा हालसम्म ७५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नहर भत्केका कारण पर्सा, बारा र रौतहट जिल्लामा सिँचाइका लागि असर परेकाले यो समस्या समाधान गर्न तटबन्ध निर्माण हुनुपर्ने आवश्यकता औँल्याइएको हो । तटबन्ध निर्माणका लागि सिँचाइ कार्यालयले जलस्रोत तथा सिँचाइ विभागसँग लिखित आग्रह गरेको कार्यालय स्रोतले जनाएको छ ।

साथै जगरनाथपुर गाउँपालिकाको मसिहानी क्षेत्रमा पर्ने उक्त नहरको पुलमा सवारी साधन आवतजावत गर्ने गर्ने हुँदा पुलको दुवैतर्फको आरसिसी पर्खाल जीर्ण भई पुलको सतह चर्किएको, पर्खालका स्तम्भ भाँचिएको, हल्का दबाबले पनि पुलको भित्ता हल्लिने गरेकाले यहाँका बसिन्दामा चिन्ता बढेको छ ।

उक्त नहरको सिँचाइले पर्सा, बारा र रौतहट जिल्लाका ३७ हजार ४ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउँदै आए पनि अहिलेसम्म सो पानी रौतहट जिल्लामा नपुगेकाले पर्सा र बारामा २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन समस्या परेको छ । यस वर्ष रौतहटसम्म ६० किलोमिटर गण्डक नहरको सरसफाइ र मर्मत गरिए पनि बाढीले गर्दा समस्या आएको सो कार्यालयले जनाएको हो ।

ओरिया खोलाको बाढीका कारण प्रत्येक वर्ष समस्या झेल्दै आएका यहाँका किसानले सो समस्या दीर्घकालीन रुपमा समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । (रासस)

प्रकाशित समय १५:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु