fbpx
Nepal Mediciti

गृहपृष्ठ तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन

तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन

machhapalan-newskarobar

साकेला गाउँपालिका–२, रतन्छाका युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले व्यक्तिगत लगानीमा दुई वर्षदेखि व्यावसायिक माछापालन गरेका हुन् ।

उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन् । यसअघि विभिन्न पेसा तथा व्यवसायमा आबद्ध उनीहरु आफ्नै लगानीमा गाउँमै स्वरोजगार हुने उद्देश्यले माछापालन गरेको बताएका छन् ।

पौरखी माछापालन समूह नामको आधिकारिक संस्था दर्ता गरेर सुरु गरिएको पोखरीमा पहिलो चरणमा २२ हजार माछाका भुरा हालिएको संस्थाका सचिव सन्तराज राईले बताए । ‘अहिले एउटा माछा आधा किलोसम्मको भएको छ,’ उनले भने, ‘भदौ पहिलो हप्तादेखि बिक्री गर्ने योजना बनाएका छौँ ।’

प्रतिव्यक्ति एक हजार ८०० का दरले लगानी गरेर सुरु गरिएको माछापोखरीमा अहिले रहरलाग्दा माछा छन् । व्यावसायिक रूपमा लगाइएको माछा हेर्न स्थानीयदेखि बाह्य कृषकसमेत आउने गरेको उनीहरुको भनाइ छ ।

प्रत्येक दिन बिहान, दिउँसो र बेलुका गरी दिनमा तीनपटक घाँस लगाउनुका साथै हेरचाह गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष महेन्द्र राईले बताए । ‘अहिले हामी आफैँले समय मिलाएर हेरचाह गर्दै आएका छौँ,’ उनले भने, ‘आगामी दिनमा अन्य युवालाई समेत रोजगारी दिने उद्देश्यले थप विस्तार गर्ने तयारी गरिएको छ ।’

चौध रोपनी क्षेत्रफल जग्गा रहेको उक्त ठाउँमा अहिले पहिलो चरणमा सात रोपनी जग्गामा मात्र पोखरी निर्माण गरेर माछापालन गरिएको छ । अहिलेसम्म कसैको सहयोगविनै शुरु गरिएको माछापालन व्यवसायलाई आगामी भदौसम्ममा थप विस्तार गर्ने तयारी गरिएको समूहले जनाएको छ ।

प्रतिकिलो ४५० देखि ५०० रुपैयाँसम्ममा पोखरीमै बिक्री हुने उक्त कमनकार्प र ग्रासकार्प प्रजातिको माछा रतन्छाका सबै भू-भागमा हुने साकेला गाउँपालिकाका कृषि प्राविधिक गणेश राईले बताए । ‘रतन्छामा भौगोलिक रूपमा पारिलो घाम र पर्याप्त पानीको स्रोत तथा माछाका लागि उपयुक्त घाँस पाइन्छ,’ उनले भने, ‘स्थानीय युवाले सुरु गरेको व्यावसायिक माछापालन छोटो समयमै प्रभावकारी बन्दै गएको छ ।’

स्थानीय युवा आफैँले कुटो र कोदालो प्रयोग गरेर निर्माण गरिएको माछापोखरीमा अहिलेसम्म नगद लगानी एक लाख ५० हजार रुपैयाँमात्र भएको जनाइएको छ । उनीहरुले दुई वर्षअघि व्यावसायिक माछापालनका लागि पोखरी निर्माण सुरु गरे पनि गत वर्षमात्रै सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित मत्स्यपालन तथा प्रवर्धन केन्द्रबाट खरिद गरेर ल्याइएको भुरा लगाएका हुन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने रतन्छाका स्थानीयवासीले यसअघिदेखि नै आ–आफ्नो घरनजिकै पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन् । उनीहरुले लामो समयदेखि माछापालन व्यवसाय गर्दै आए पनि संस्थागत रूपमा दर्ता गरेका थिएनन् ।

माछाका लागि उर्वरभूमि रहेको रतन्छालाई माछाको स्रोत केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिकाले योजना बनाएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । गाउँपालिका प्रमुख खड्काका अनुसार रतन्छामा यस वर्ष मात्रै दुई लाख बढी कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा वितरण गरिएको छ । (केदार मगर/रासस)

प्रकाशित समय १३:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु