fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्णालीलाई पनि तरकारीमा भारतकै भर

कर्णालीलाई पनि तरकारीमा भारतकै भर

कर्णाली प्रदेशका अधिकांश मानिस कृषिक्षेत्रमा आबद्ध छन् । अधिकांश मानिस कृषिमा संलग्न भए पनि प्रदेशलाई तरकारी पुग्दैन । कर्णालीमा प्रदेशभरको कुल खेतीयोग्य जमिन दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर छ । त्यसमध्ये दुई लाख १६ हजार आठ सय ८० हेक्टरमा खेती गरिएको छ ।

तर, उत्पादित कृषि उपजले कर्णालीलाई पुग्दैन । स्थानीय उत्पादनले माग धान्न नसकेपछि भारत र जिल्लाबाट तरकारी आयात गर्नुपरेको कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष हर्कबहादुर खत्री बताउँछन् । ‘स्थानीय उत्पादनले हामीलाई पुग्दैन, त्यसैले भारतबाट आयात गरी बजार धानेका छौं,’ उनले भने ।

बाहिरको तरकारी आयात गर्न नपाइने र स्थानीय उत्पादनमा जोड दिने नीति सरकारले नबनाएसम्म बाहिरको उत्पादित तरकारी भित्रिरहने खत्रीको भनाइ छ । ‘गाउँका जग्गा बाँझो छाड्नेलाई कारबाही गर्नुपर्छ । खेतीयोग्य जमिनको खण्डीकरण पनि रोक्नु जरुरी छ,’ खत्रीले थपे । भारतबाट आएको तरकारी दैनिक दैलेख, कालिकोट, जुम्ला र जाजरकोट पठाउने गरेको उनले जानकारी दिए ।

कृषि बजार व्यवस्थापन समिति सुर्खेतको आर्थिक वर्ष ०७४÷७५ को तथ्यांकअनुसार भारत र नेपालकै कर्णालीबाहेकका केही जिल्ला र चीनबाट एक वर्षको अवधिमा ३२ हजार ३१ टन तरकारी भित्रिएको छ । गोलभेँडा, आलु, प्याज, काउली, बन्दा, तितेकरेला, गाँजरलगायतका कृषिउपज ३२ हजार टन भित्रिँदा स्थानीय उत्पादन भने १५ सय ९५ टनमात्र किनबेच भएको छ ।

त्यस्तै, फलफूलमा केरा, कागती, अनार, आँप, काँक्रोलगायत भारत तथा अन्य जिल्लाबाट २४ हजार ५ सय ९४ टन कारोबार भएको छ । स्थानीय उत्पादनको हिस्सा भने ७ सय ३० टनमात्रै छ । मसलामा समेत सुर्खेतलगायतका कर्णालीका बासिन्दा भारतकै भर पर्नुुपर्ने अवस्था रहेको तथ्यांकले देखाएको छ । अदुवा, खुर्सानी, लसुनको बाह्य कारोबार १८ सय ७७ टन हुँदा स्थानीय कारोबार १ सय ६५ टनमात्रै भएको समितिले जनाएको छ ।

कर्णालीको ३८ हजार ३३ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । आंशिक सिञ्चित जमिनको क्षेत्रफल ३० हजार तीन सय दुई हेक्टर छ । कर्णालीमा अधिकांश परम्परागत खेती, सिँचाइको अभाव र उत्पादिन बस्तुले बजार नपाउने समस्याका कारण उत्पादनका क्षेत्रमा किसानको आकर्षण घटेको हो । तरकारीमात्रै नभएर कर्णालीका जनता खाद्यान्नसमेत बाहिरबाट आयात गरी गुजारा गर्न बाध्य छन् ।

बाहिरबाट आयात हुने तरकारी र खाद्यान्नलाई कम गरी स्थानीय उत्पादनलाई बढावा दिने र निर्यात गर्न सकेमात्र समृद्ध कर्णाली सपना साकार हुने बुद्धजीवी बताउँछन् ।

प्रकाशित समय १५:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु