गृहपृष्ठ कांग्रेसको महासमिति बैठक नसकिँदै नेविसंघमा विवाद सुरु

कांग्रेसको महासमिति बैठक नसकिँदै नेविसंघमा विवाद सुरु

महासमितिको नाममा महाधिवेशन सार्ने षड्यन्त्र भइरहेको असन्तुष्ट पक्षको दाबी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन प्रभावित बनेको छ । नेविंघले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने गरी गाउँ, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन तोके पनि महासमितिको बैठकका कारण अहिलेसम्म कुनै तहको निर्वाचन हुन सकेको छैन ।

लामो समयको विधान र नियमावली विवादसँगै पार्टीले विधानलाई पास गरेपछि नेविसंका अध्यक्ष नैनसिंह महरले मङ्सिर १५ गते पत्रकार सम्मेलन गरी नेविसंघको १२औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए ।

कार्यतालिकाअनुसार मंसिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्चमध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने छ ।

अध्यक्ष महरले पार्टीका नेताहरू महासमिति बैठकमा जुटेका कारण गाउँ, वडा तथा जिल्ला अधिवेशन गर्न ढिलाइ भएको बताए । ‘नेविसंघले २५ वर्षपछि पहिलो पटक गाउँ–गाउँको अधिवेशन गर्न लागेको छ, त्यसैले पनि केही ढिलाइ भएको हो,’ उनले भने । नेविसंघले १२औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता वितरण गरिसकेको उनले जानकारी दिए ।

नेविसंघका नेता दीपक भट्टराईले महासमितिको नाममा नेविसंघको महाधिवेशन नगर्ने खेल भइरहेको बताए । ‘महाधिवेशन नगरी आफ्नो कार्यकाल लम्ब्याउन वर्तमान नेतृत्व लागेको छ,’ उनले भने । महासमितिको मुखमा आएर निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुले पनि निर्वाचन नगर्ने खेल भएको उनको तर्क छ ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु